काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । यसपालि छिमेकी मुलुक भारतबाट आयात गर्नेक्रममा नै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले सोहीअनुसार भाउ घटाएर मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
बुधबार निगम सञ्चालक समितिले गरेको नयाँ मूल्य समायोजनको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । समायोजन गरी घटेको नयाँ मूल्य बिहीबार बिहान १ बजेपछि लागू हुनेछ ।
निगमले ढुवानी तथा लागत खर्चअनुसार मुलुकभरका विभिन्न ठाउँलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन वर्गमा विभाजन गरी फरकफरक मूल्य निर्धारण गर्दै आएको छ ।
सोही तीन किसिमको वर्गअनुसार तेस्रो वर्गमा पर्ने काठमाडांै उपत्यकालगायतका क्षेत्रमा हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब सो मूल्य घटेर प्रतिलिटर १ सय ७१ रुपैयाँ कायम गरिको छ ।
यसैगरी, डिजेल र मट्टितेलको मूल्य अधिकतम तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकालगायतका क्षेत्रमा प्रतिलिटर १ सय ५९ रुपैयाँ रहेकामा सो मूल्य घटेर प्रतिलिटर १ सय ५४ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले अहिले यहाँ सोहीअनुसार मूल्य घटाएर समायोजन गरिएको निगमले जनाएको छ ।