☰ open Loading... 5 February 2025|  

गर्मीले जनजीवन प्रभावित
पश्चिम नेपाल   | ५ जेष्ठ २०८१, शनिबार १८:३०

तराईमा शनिबार अत्यधिक गर्मी र तातो लु चलेपछि जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा दिउँसोको तापक्रम ४३ डिग्री पुगेको छ ।

चिकित्सकले सर्वसाधरणलाई आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यधिक गर्मीले अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्केका छैनन् ।

तराईमा दिउँसो कर्फ्यु लागे जस्तो सडक सुनसान छ । वैशाखयता बर्दियामा पनि तातो लुले मानिसहरु बिरामी पर्न थालेका छन् । जिल्ला अस्पतालका वाल विशेषज्ञ डाक्टर विश्वनाथप्रसाद शाहले गर्मी बढेसँगै सबैभन्दा बढी बालबालिका र वृद्ध प्रभावित भएको बताए ।
‘गर्मी र तातो लुमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन जिल्लावासीमा आग्रह गरेका छौं,’ उनले भने, ‘प्रशस्त पानी, झोलिलो पदार्थ पिउने, बाहिर निस्कन पर्‍यो भने टाउको छोप्ने, जिउ छोप्ने पातलो कपडा लगाउने, छाताको प्रयोग गर्नु पर्छ ।

बिहानैदेखि तातोहावा सँगै चर्को घामले दैनिक जनजीवन प्रभावित बन्दै गएको छ । उखरमाउलो गर्मीले कार्यालयमा सेवाग्राही पनि कम हुँदै गएका छन् । ‘सडकमा हिँड्दा कहाँ ढल्ने हो ठेगान छैन,’ स्थानीय ६९ वर्षीय नसिफ सरिफ सिद्दीकीले भने,’अत्यधिक गर्मीले सडक तातेको छ ।’

डाक्टर शाहका अनुसार जिल्ला अस्पतालमा अहिले दैनिक ३ सयभन्दा बढी बिरामी बहिरंग सेवामा उपचारका लागि आउने गर्छन् ।