☰ open Loading... 19 June 2024|  

भिरमौरामा विकासले राहत ल्याउँदै
पश्चिम नेपाल   | ७ जेष्ठ २०८१, सोमबार ०९:५५

गाउँबिचबाट सडक खन्न लाग्दा खुसी भएका दैलेखका नारायण नगरपालिका–४ स्थित ठाडीखोला र भिरमौराका स्थानीयहरू वर्षा सुरु भएसँगै आएको पहिरोले स्थानीयहरू पीडित भए। विकाससँगै गाउँमा विनास देखा पर्न थाल्यो। पहिरोले खेतबारीहरू बगर हुन थाले, पाहानहरू सुक्न थाले, अहिले खेतहरूमा सिँचाइ गर्ने कुलो बग्यो।

गाउँमा आएको सडकका कारण खानेपानी, सिँचाइदेखि उब्जनीसमेतमा असर पर्न थालेपछि स्थानीयहरूमा बेचैनी भयो। खेत बगर छ अनि सिँचाइ कुलो छैन। कृषि पेसा मुख्य पेसा बनाएका स्थानीयहरूको समस्या सुन्ने समेत भएनन्।

उनीहरू एकीकृत भएर पहिरो पीडित खाद्य अधिकार समूह गठन गरे। आफ्नो गाउँको समस्याहरू लिखित रूपमै ल्याएर वडा, नगर हुँदै प्रदेशका मन्त्रालयहरूमा समेत सुनाए। सडक खन्दा नारायण नगरपालिकाको भिरमौरामा २०७५ मा गएको पहिरोका कारण धेरै समस्याहरू देखिएका थिए।

कर्णाली प्रदेश कृषि विकास कार्यालय मार्फत ७ लाख रकम विनियोजन भएर साना सिचाई कुलो बन्यो। पहिलो नियन्त्रण र रोकथामका लागि १० लाख रकम विनियोजन गरेको छ। पहिरो नियन्त्रणको काम अगामी वर्षसम्म हुने गरि तयारी गरिएको छ।

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेख मार्फत खानेपानीका लागि बजेट विनियोजन गरी काम गर्ने बचन स्थानीयले पाईसकेका छन्। नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत पक्की टर्नेलहरू बनाएको छ।

यसरी ठाडीखोला र भिरमौराका स्थानीय पहिरो पीडितहरूका लागि विकास भईरहेको छ। उनीहरूकै अग्रसरतामा पहिरोले निम्त्याएको विनाशको समाधान खोज्दै विकासहरू हुन थालेपछि अहिले खुसी छन्। फियानले समुदायलाई एकजुट गरेर समुह बनाएर अधिकारका लागि विकास माग्न सहजीकरण गरेको छ।

यो वर्षबाट सिंचाईबाट वञ्चित ६० रोपनी खेतबारीमा सिंचाई हुने भएको। सिंचाई सुविधा भएपनि सडक र पहिरोको कारण खानेपानीको मुहानमा पनि पानीको सतह कम हुँदा पहिलेभन्दा पानी नआउने समस्या रहेको स्थानीय पदमाकुमारी मल्लले बताईन।

पहिरोले खेतहरू बगर भएपछि उत्पादन घट्दा समस्या भोगेका उनीहरू यसवर्षदेखि खेतहरूमा सिंचाईसंगै धान रोप्ने तयारी गरेका छन्। सिंचाई कुलोका लागि स्थानीय पीडितहरूले नै आफ्नो निर्वाचन क्षेत्रका सांसद कृष्ण कुमार विसी मन्त्री हुँदा योजना मागेका थिए। त्यसको फलस्वरूप तटबन्ध र सिंचाईको कार्यक्रम परेको थियो।

मनपरी रूपमा सडक निर्माणको नाममा डोजर चलाएर वर्षायाममा पहिरो जाने, पानीका मुहानहरू सुक्ने हुँदा स्थानीय समुदायलाई आफ्नो उत्पादन घटेर परिवार पाल्नै गाह्रो हुन थालेपछि सवै एकजुट भएर विकास माग्न जाने, गाउँका समस्या समाधान गर्ने गरेको स्थानीय अगुवा तेजबहादुर मल्लले बताए।

‘हामी गाउँमा डोजरले वितण्डा मच्चाउँदा कुलो, खानेपानी र खेतीयोग्य जमिनको समस्या लिएर नगरपालिका र सुर्खेत मन्त्रालय पुग्यौं,’ अगुवा मल्लले भने, ‘प्रदेश सरकारबाट कुलो र तटबन्धको कार्यक्रम परेको थियो। कुलो सकिएको छ भने तटबन्ध कार्यक्रम प्रदेशकै लफडाले रोकिएको छ।’

नगरले डोजर चलाउँदा गाउँ, खेत तहसनहस भएको स्थानीयहरू बताउँछन्। गाउँमाथिबाट वर्षातमा आउने भल गाउँमा छिर्न थालेपछि अर्को समस्या भएको उनीहरू बताउँछन्।

एकपछि अर्को समस्याले गाउँमा किसानलाई हैरानी भएको पहिरोपीडित खाद्य अधिकार समूहका अध्यक्ष टेकबहादुर रानाले बताए। ‘नगरदेखि जिल्ला हुँदै मन्त्रालयसम्म आफ्ना गाउँका मागहरू राख्न थालेसँगै गाउँमा केही विकासका गतिविधिहरू देखिन थालेको छ।’

रानाले भने, ‘बजेट भए पनि प्रदेशकै समस्याले अझै पहिरो रोकथाम, खानेपानीलगायतका समस्या समाधान हुन सकेको छैन।’