☰ open Loading... 7 September 2024|  

निति तथा कार्यक्रममा आफ्नो अधिकार माग्दै बाल कचहरी
पश्चिम नेपाल   | ७ जेष्ठ २०८१, सोमबार ०९:५८

बालबालिकामा लगानी वृद्धि गरी बालअधिकार सुनिश्चित गर्न बाल कचहरी गरिएको छ। जिल्लाको शुभकालिका गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रममा बालबालिका सम्बन्धी बनेका नीति र बाल केन्द्रित बजेटको अवस्थाबारे अधिकार माग्दै बाल कचहरी गरिएको हो।

पालिकाभरिका बाल सञ्जालमा आबद्ध बालबालिकाले आफूले दैनिक रूपमा विद्यालय र समाजमा भोग्नुपरेका समस्याबारे खुलेर जनप्रतिनिधिसँग प्रश्न राखेका थिए।

समुदायमा रहेका जल्दाबल्दा सबालबारे गाउँमा भद्रभलादमी बसेर सामूहिक निर्णय गर्ने कर्णालीको पुरानो चलन कचहरीलाई कालीकोटमा बालबालिकाका अधिकारसँग जोड्दै बाल कचहरी गर्ने गरिएको छ।

गाउँपालिमा आयोजित बाल कचहरीमा जिल्ला बाल सञ्जालकी यमुना बोहोराले विद्यालयमा महिनावारी हुँदा प्याड फेर्नकै लागि दिउँसो घर जानुपर्ने बाध्यता रहेको बताइन्।

उनले भनिन्, ‘पालिकाले विद्यालयमा व्यवस्थित खानेपानी, सेनेटरी प्याड, छात्रामैत्री शौचालयको अभाव छ। यस्ता आधारभूत आवश्यकता कहिले पूरा हुन्छ मिक रोक्न निर्माण सुरु भएका योजनाहरूमा कडाइ गर्ने, अपांगता भएका बालबालिकाको शिक्षाका लागि स्थानीय तहमार्फत पहल गरी शिक्षाको पहुँचमा पुर्‍याउने, विद्यालयमा खानेपानी शौचालयका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्।

कचहरीमा उठेका प्रश्नमा गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले स्थानीय सरकारले तयार गरेको योजनामा बालबालिका र ६० वर्षका वृद्धलाई श्रममा नलगाउन पालिकाले अनुरोध गरेका बताइन्।

उनले पालिकाका प्रत्यक माविमा कम्प्युटर ल्याब स्थापना गरेको तर कतिपय विद्यालयमा प्रयोगमा नआएको बताइन्। उनले जीर्ण भवन, घेरबार, सेनेटरी प्याडलगायत विषयमा बजेट विनियोजन गर्ने बताइन्।

यस्तै कचहरीका बोल्दै सेभ द चिल्ड्रेनका परियोजना संयोजक टीकाराम नेपालीले कुनै पनि बालबालिका कुनै पनि समयमा पछि पर्न नहुने गरी आवाज उठेको बताए। उनले जहिले पनि बालबालिकाको आवाज बनेको सेभ द चिल्ड्रेनले बालबालिकाको तत्काल र दीर्घकालीन परिर्वतन ल्याउन तयार रहेको बताए।

यस्तै किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले किर्डाक नेपालको सहयात्रा परियोजनाले अहिले धेरै परिर्वतन ल्याएको बताए। उनले कुलत, लागुऔषध, बालविवाहलगायतमा बालबालिकाले आफ्नो बानीलाई सुधार गनुपर्ने बताए।

उनले शिक्षा क्षेत्र र बालबालिकाको क्षेत्रमा नयाँ बजेट आवश्यक रहेको बताए। बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ संकल्प परियोजनाअन्तर्गत किर्डाक नेपाल तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र शुभकालिका गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको थियो।

बालबालिकाको प्रश्न र सरोकारवालाको जवाफ साथै आगामी दिनमा सुधारका लागि गरिएका प्रतिबद्धताले बालबालिकाको पनि आवाज सुनिने रहेछ भन्ने महसुस भएको शुभकालिका गाउँपालिका बाल सञ्जालका सचिव धर्मा शाहीले बताइन्।

बालश्रम, छाउपडी प्रथा, लैंगिक हिंसा, अपाङ्गमैत्री विद्यालय निर्माण, जातीय छुवाछुत, खानेपानी समस्या, विद्यालयमा घेरबार, कम्प्युटर ल्याब प्रयोगविहीन, सेनेटरी प्याडजस्ता विषयमा प्रश्न उठेका थिए।