☰ open Loading... 21 September 2024|  

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने
पश्चिम नेपाल   | २० जेष्ठ २०८१, आईतवार २१:३४

यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ। यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताए। हाल मुलुकका विभिन्न भू–भागमा भईरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उनले जानकारी दिए।

नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ। तर मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ। यस्तै आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ।