☰ open Loading... 9 March 2025|  

हुम्लामा जोडियो राष्ट्रिय सडक
पश्चिम नेपाल   | २१ जेष्ठ २०८१, सोमबार २०:५३

देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोटमा पनि सडक पुगेको छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक नेपालकै बाटो हुँदै यातायात सेवा पुगेको हो। चीनको सीमा हुँदै सिमकोटमा पहिला नै सडक पुगे पनि नेपालकै बाटो हुँदै भने सडक पुगेको यो पहिलो पटक भएको सरकारको दाबी छ।

नेपालमा सडक निर्माणको सुरुवात १९८० को दशकमा काठमाडौं उपत्यकाबाट भएको पाइन्छ। लामो दुरीको पहिलो सडकको रुपमा कठमाडौंलाई तराईसँग जोड्ने काठमाडौं­भैँसे सडक (त्रिभुवन राजपथ) भारतीय सहयोगमा २००९ सालमा निर्माण भएको सरकारी रेकर्डमा देखिन्छ।

नेपालमा सडक निर्माणको सुरुवात भएको सय वर्षपछि भने हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको छ। तर सडक सञ्जालमा सिमकोट जोडिए पनि सवारी साधन भने नियमित चल्न अझै केही समय लाग्ने भएको छ। सडकको उचित स्तरोन्नति भएपछि मात्र सवारी साधन नियमित चल्ने उत्तर दक्षिण सडक निर्देशनालयका निर्देशक प्रेम प्रकाश खत्री बताउँछन्।