☰ open Loading... 24 October 2024|  

दुई वर्षमा कर्णाली सरकारले ११७ किलोमिटर कालोपत्रे
पश्चिम नेपाल   | ३० जेष्ठ २०८१, बुधबार १९:३३

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको जेठ महिनासम्म गरी २३ महिनामा ११७.१३ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक वर्षमा सरकारले ७८.९५ किलोमिटर सडक कालोपत्रे गरेको थियो ।

यस्तै चालु आर्थिक वर्षको जेठसम्म ३८.१८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । असार मसान्तसम्म यो तथ्याङ्क केही मात्रामा बढ्ने देखिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा ३३.०२, आर्थिक वर्ष ०७८/७९ मा १५.९० किलोमिटर पक्की सडक निर्माण गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेश सरकारको प्राथमिकता कालोपत्रे भन्दा पनि नयाँ सडक (ट्र्याक ओपन) हो । प्रदेशका कतिपय गाउँ–ठाउँ अझै सडक सञ्जालमा जोडिएका छैनन् । सरकारको प्राथमिकता सडक नपुगेका ठाउँहरूमा सडक पु¥याउनु रहेको मन्त्रालयको भनाइ छ ।

प्राप्त तथ्याङ्क अनुसार २३ महिनाको अवधिमा दुई हजार ६२९.४८ किलोमिटर नयाँ सडकको ट्र्याक ओपन गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म २०५.३७ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ भने गत वर्षमा दुई हजार ४२४.११ किलोमिटर नयाँ सडक निर्माण भएको छ । असार मसान्तसम्म यो नयाँ सडकको लम्बाइ तीन हजार कट्ने सम्भावना रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यस्तै २३ महिनाको अवधिमा सरकारले ४८१.७५ किलोमिटर सडक ग्राभेल/खण्डस्मित गरेको तथ्याङ्क छ । चालु आर्थिक वर्षको हालसम्म ४७.७४ किलोमिटर सडक ग्राभेल/खण्डस्मित गरेको छ । यस्तै सरकारले चालु आर्थिक वर्षको हालसम्म ५७.१२ किलोमिटर सडकको स्तरोन्नति र नाला निर्माणको काम गरेको छ । २३ महिनाको अवधिमा २७३.४० किलोमिटर स्तरोन्नति र नालाको काम सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविन कार्की कालोपत्रे सडकभन्दा कर्णालीमा ट्र्याक ओपन पहिलो प्राथमिकतामा रहेको बताउँछन् । यद्यपि कालोपत्रे पनि आवश्यकता अनुसार भइरहेको उनले बताए ।

विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरका अधिकांश सडक कालोपत्रे भइसकेका छन् । प्रदेश सरकारबाट काम भइरहेका दर्जनौँ सडक कालोपत्रे भएसँगै राजधानीको सडक पूर्वाधारको अवस्थामा निकै सुधार आएको उनले बताए । सुर्खेतपछि दैलेख, रुकुम पश्चिम र सल्यानमा कालोपत्रे भएको छ ।

-रातोपाटीबाट