☰ open Loading... 24 October 2024|  

कर्णालीको बजेट चालु आर्थिक वर्षभन्दा घटेर आयो
पश्चिम नेपाल   | १ असार २०८१, शनिबार १८:४०

आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट कर्णाली प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि घटाएर बजेट ल्याइएको छ । यो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो । बजेटमा पुरानै योजनालाई प्राथमिकता दिएको छ ।

कुल बजेटमध्ये चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार (२४.१२ प्रतिशत) रहेको छ । त्यस्तै पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार (६९.७ प्रतिशत) बजेट विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसीले प्रदेश सभामा सार्वजनिक गरे ।

आगामी आर्थिक वर्षका लागि राजश्व सङ्कलनको लक्ष्य ८३ करोड ४४ लाख ६५ हजार राखिएको छ । तर, कर्णालीमा लक्ष्यभन्दा कम वर्षेनी राजश्व संकलन हुने गरेको छ ।