☰ open Loading... 24 October 2024|  

सुर्तीजन्य पदार्थ निषेध गर्न सरोकारवालाको सुझाव
पश्चिम नेपाल   | ३ असार २०८१, सोमबार ०५:५५

दैलेख- सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउन सरोकारवालाले सुझाव दिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्दको समन्वयमा आउटरिच मिडियाले दैलेखमा गरेको धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा सुझाब दिएका हुन् ।

कार्याक्रमा नारायण नगरपालिकाकी उप मेयर तप्ता थापाले विद्यालय लगायतका सार्वजनिक क्षेत्र नजिकमा राखिएका सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि नगरपालिकाले काम गर्ने बताइन् ।उनले धेरै रोगहरुको कारक तत्व बनेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीबाट नागरिकलाई जोगाउन अबदेखि सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणमा कडाई गरिने समेत बताईन्।

उनले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने अभियानमा सबै संघसंस्थाको साथ सहयोगको लागि आग्रह समेत गरिन् ।उनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि नगरपालिकाले टोल र विद्यालयस्तरीय कार्यक्रम गरिएको उनको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा धर्मराज रेग्मीले अस्पताल, विद्यालय जस्ता स्थानमा सुर्तीजन्य वस्तुको बिक्री बितरण तथा उपयोगमा रोक लगाउनु पर्ने बताए ।उनले त्यस क्षेत्रमा पूर्ण निषेध गरिएपछि अन्यत्र पनि कडाई गरिनुपर्ने सुझाव दिए ।

दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले प्रहरीको तर्फबाट सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सहयोग गर्ने बताए । कानुनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेपनि व्यवहारिक कार्यान्वयन फितलो भएको गुनासो समेत गरे ।

यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा सार्वजनिक स्थलमा कसैले धुम्रपान गर्न नपाइने बताए ।उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै निकायको उत्तिकै भूमिका महत्वपूर्ण रहेकोले सबैले जागरुक भएर यसको नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।