☰ open Loading... 24 December 2024|  

कर्णालीमा विपद्‌बाट १० वर्षमा ६४६ जनाको मृत्यु, १३ अर्ब बढीको क्षति
पश्चिम नेपाल   | १५ असार २०८१, शनिबार १०:२६

कर्णाली विपद् जोखिमको हिसाबले उच्च जोखिममा रहेको प्रदेश हो । विशेषगरी कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढीको जोखिम हुन्छ ।

यद्यपि कर्णाली, भेरी नदी तथा दर्जनौँ खोलानालाहरू भएको हुँदा अन्य जिल्लाहरूमा पनि बाढी जोखिम पनि उत्तिकै रहन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णालीमा पहिरो, बाढी, चट्याङ्ग जस्ता तीनवटै विपद्को जोखिम उच्च रहेको छ ।

यहाँको अधिकांश भू–भाग पहाडी क्षेत्र भएकाले यहाँ पहिरोको जोखिम सबैभन्दा बढी रहेको छ । कर्णालीमा यस वर्ष ५० हजार ४ सय ६४ जनसङ्ख्या मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने आकलन गरिएको छ । यस्तै विपद्बाट ११ हजार ५ सय ४८ घरधुरी प्रत्यक्ष प्रभावित हुने अनुमान छ ।

मनसुनजन्य विपद्बाट १० वर्षमा ६४६ जनाको मृत्यु, १३ अर्ब बढीको क्षति

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग भएको तथ्याङ्क अनुसार विगत १० वर्षमा मनसुनजन्य विपद्मा परी ६४६ जनाले ज्यान गुमाएका छन् ।

२०७१ वैशाखदेखि २०८० चैत्रसम्म १० वर्षको अवधिमा कर्णाली प्रदेशमा १ हजार ७३२ वटा विपद्का घटनाहरू भए । जसबाट ६४६ जनाको मृत्यु भयो भने १७० जना बेपत्ता भए । यस्तै १ हजार १५५ जना घाइते भए । यस अवधिमा दुई हजार ३७५ वटा घरहरूमा क्षति भयो । उल्लेखित तथ्याङ्कमा गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पको क्षति विवरण भने समावेश गरिएको छैन । मनसुनजन्य विपद्हरूमा पनि बाढी, पहिरो र भारी वर्षाका घटनाहरूबाट बढी क्षति तथा नोक्सानी हुँदै आएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

पहिरोको घटनालाई विश्लेषण गर्दा कर्णाली पहिरोको उच्च जोखिममा रहेको छ । १० वर्षको अवधिमा कर्णालीमा २०५ वटा पहिरोको घटनाहरू घटेका छन् । उक्त घटनामा परेर १८७ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता र १५२ जना घाइते भएका छन् ।
यो अवधिमा सडक दुर्घटना र कोभिड महामारी बाहेकका अन्य विपद्बाट मात्र कर्णाली प्रदेशमा १३ अर्ब ४४ करोड ६६ लाख १४ हजार ५ सय ७८ रुपैयाँ अनुमानित आर्थिक नोक्सानी भएको तथ्याङ्कले देखाउँछ । औसतमा कर्णालीमा वार्षिक १ अर्ब ३४ करोड ४६ लाख ६१ हजार ४ सय ५८ रुपैयाँभन्दा बढी क्षति हुने गरेको देखिन्छ । कर्णालीमा सबैभन्दा बढी पहिरो र बाढीबाट आर्थिक क्षति हुने गरेको देखिएको कानुन मन्त्रालयको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकाया बताउँछन् ।

मनसुनी वर्षा, बेमौसमी वर्षा, कमजोर भौगर्भिक बनावट, भौगोलिक विकटता, जोखिम स्थानहरूमा घर तथा अन्य संरचनाहरूको निर्माण, जोखिम न्यूनीकरणका उपायहरू नअपनाउनु आदि कारणबाट मनसुनको समयमा बाढी, पहिरो, भीषण वर्षा, चट्याङ्ग लगायत अन्य पानीजन्य प्रकोपका कारण यस प्रदेशमा ठुलो जनधनको क्षति हुने गरेको उनको भनाइ छ ।

मनसुनजन्य विपद्का कारण सबैभन्दा बढी घटनाहरू ०७७ सालमा घटेको र मानवीय क्षति पनि सोही वर्ष धेरै भएको रोकाया बताउँछन् ।

पहिरोबाट धेरै क्षति

पहिरोको घटनालाई विश्लेषण गर्दा कर्णाली पहिरोको उच्च जोखिममा रहेको छ । १० वर्षको अवधिमा कर्णालीमा २०५ वटा पहिरोको घटनाहरू घटेका छन् । उक्त घटनामा परेर १८७ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता र १५२ जना घाइते भएका छन् ।

यस्तै ७७२ वटा पूर्वाधारहरुको क्षति भएको छ भने ३२२ पशु चौपायाको क्षति भएको छ । यस्तै ३६ करोड भन्दा बढीको आर्थिक क्षति भएको मन्त्रालयको तथ्याङ्कले बताउँछ ।

तथ्याङ्क अनुसार कालिकोट, जाजरकोट, डोल्पा, जुम्ला, सल्यान, हुम्ला, रुकुम र सुर्खेत जिल्लामा मनसुनी पहिरोका कारण बढी मानवीय क्षति भएको देखिन्छ ।

१० वर्षमा भएको पहिरोको घटनाको जिल्लागत विवरण

बाढी, भारी वर्षा र चट्याङ्गबाट भएको क्षति

कर्णालीमा नदी र मुख्य जलाधारबाट ल्याउने बाढी तथा डुबानबाट घटनहरू बर्सेनि दोहोरिने गरेका छन् । १० जिल्लामध्ये सुर्खेतमा बाढी र डुबानको प्रकोपको हिसाबले बढी जोखिम रहेको छ । १० वर्षमा कर्णालीमा ७५ वटा बाढीका घटनामा परी ६७ जनाको मृत्यु भएको छ । यस्तै ३३ घाइते र ११७ जना बेपत्ता भएको छन् । २८९० वटा पूर्वाधारमा क्षति हुन गई २४ करोड भन्दा बढीको आर्थिक क्षति भएको छ ।

१० वर्षमा बाढीका कारण भएको जिल्लागत क्षति

यस्तै कर्णालीमा भारी वर्षाका कारण पनि ठुलो क्षति हुने गरेको छ । १० वर्षमा भारी वर्षाका कारण १६८ वटा घटना घटेका छन् भने १४ जनाको मृत्यु, १७ करोडको आर्थिक क्षति, १३७ पूर्वाधारको क्षति र ४२९ पशुको क्षति भएको विवरणमा उल्लेख छ ।

कमजोर संरचनामा बनाइएका घरहरू साथै धेरै पुराना घरहरू भारी वर्षाका कारण भत्किने हुन्छ, जसका कारण मानिस, पशु चौपाया, तथा आर्थिक क्षति हुने गरेको तथ्याङ्कले देखाउँछ ।

यस्तै चट्याङ्गबाट १० वर्षमा कर्णालीमा ४३ जनाको मृत्यु भएको छ । २३३ वटा चट्याङ्गका घटनमा परी २८ लाख बराबरको आर्थिक क्षति, एक हजार ५९० गाईबस्तुको क्षति भएको छ ।

असुरक्षित बस्तीहरू

कर्णाली विकास आयोगले ०७४ मा साबिक कर्णालीका चार जिल्लामा गरेको अध्ययनले ३१८ वटा गाउँबस्तीहरु असुरक्षित रहेको देखाएको थियो । यी बस्तीहरू बढीजसो पहिरोका कारण असुरक्षित भएको बताइन्छ । अध्ययनले प्राकृतिक रूपमा भिरालो हुनु, बाढी पहिरो आउनु र नदी कटानले विपद् ल्याएको विषय मात्र हेरेको थियो । त्यसबेला कर्णालीका चार जिल्लाका जम्मा १०२५ गाउँमध्ये ७०४ गाउँ अर्थात् ६९ प्रतिशत गाउँ सामान्य रूपमा सुरक्षित देखिएका थिए । यस्तै ३१८ गाउँ अर्थात् ३१ प्रतिशत गाउँ उच्च जोखिममा रहेको पाइएको थियो ।

कति बस्ती सुरक्षित

के छ सरकारी पूर्व तयारी ?

जल तथा मौसम विज्ञान विभागको मौसमी प्रतिवेदन अनुसार यस वर्ष कर्णाली प्रदेशका अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५% रहेको छ । विगत भन्दा यो वर्ष पहिरो, बाढीको जोखिम अझ उच्च रहेको अधिकारीहरू बताउँछन् । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–०८१’ तयार गरी पारित गरेको छ । वर्षायाममा हुन सक्ने बाढी, कटान, पहिरो, सडक अवरोध, महामारी जस्ता प्रकोपहरूलाई दृष्टिगत गरी प्रकोप अगाडि अपनाइने सावधानीका उपायहरू, विपद्को समयमा गरिने खोज तथा उद्धार कार्य, राहत वितरण कार्य तथा प्रभावितहरूका लागि राहत सङ्कलन साथै विपद्पश्चात् गर्न सकिने मानवीय सहयोग एवम् शीघ्र पुनर्लाभ, पुनर्निर्माण र पुन स्थापनको क्षेत्रमा गर्न सकिने आधारभूत विषयहरूमा आधारित रहेर उक्त कार्ययोजना तयार गरिएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायका अनुसार पहिरो र बाढीको विपद् भएको अवस्थामा क्षति कसरी कम गर्न सकिन्छ, प्रभावकारी सूचना व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले क्रियाशील विभिन्न विषयगत क्षेत्र र सरोकारवाला निकायको जिम्मेवारी तोकिएको छ । प्रदेशमा ९ वटा विषयगत क्षेत्रहरू सक्रिय रहेको र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी तयारी अवस्थामा रहेको उनले बताए ।

तीनवटै सुरक्षा निकायका २४५ जना तालिम प्राप्त खोज उद्धार जनशक्ति तैनाथ अवस्थामा रहेको उनले बताए । ‘आवश्यक परेमा खोज उद्धारको लागि थप जनशक्ति परिचालनको प्रबन्ध तीन वटै सुरक्षा निकायसँग समन्वय गरी परिचालन गर्ने गरिएको छ,’ उनले भने, ‘विपद् व्यवस्थापनको लागि मानवरहित हवाई यन्त्रको प्रयोग सम्बन्धी तालिम प्राप्त १७ जना दक्ष जनशक्तिको सूची तयार गरी तयारी अवस्थामा राखिएको छ ।’

यस्तै कर्णाली प्रदेशमा रहेका खोज उद्धार जनशक्ति, उपकरण तथा सामग्रीहरू पनि तयारी अवस्थामै राखिएको छ । बाढी–पहिरोको कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउनको लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय तथा पालिका मातहत रहेका हेभी उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि रोकाया बताउँछन् । प्रादेशिक मानवीय सहायता स्थल सुर्खेत र जुम्ला केन्द्र तथा गोदाम घरहरूमा बन्दोबस्तीका सामग्रीहरूको प्रबन्ध गरिएको छ ।

उनका अनुसार विगतको अनुभव तथा बाढी तथा पहिरोले परेको प्रभावको तथा प्रतिकार्यको समीक्षालाई आधार मानेर हेर्ने हो भने कर्णाली प्रदेशमा करिब एक तिहाइ (१६,८२१ जना र ३८४९ घरधुरी) लाई खाद्यान्न लगायत मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ । सोही बमोजिम विषयगत क्षेत्रको कार्ययोजना तयार गरिएको छ । आवश्यक राहत सामग्रीहरूको आँकलन गरी प्रदेश, जिल्ला तथा स्थानीय तहहरूमा विभिन्न विषयगत क्षेत्रका राहत सामग्रीहरूको भण्डारण गरिएको पनि उनले जानकारी दिए । विपद् प्रतिकार्य योजनामा ३ अर्ब बढी रकम लाग्ने अनुमान गरिएको छ ।

गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पले यो वर्ष कर्णालीमा पहिरोको जोखिम थप बढाएको छ । भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानका विभिन्न बस्तीहरू चिराचिरा परेका छन् । नलगाड नगरपालिका–१, चिउरी, कलपट, पाली लगायतका बस्तीको जमिन भूकम्पले चर्काएको छ । बस्तीमाथि पहाड चिराचिरा परेपछि बस्तीहरू असुरक्षित रहेपनि अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रको नक्शाङ्कन भने गरिएको छैन । विपद् पूर्व तयारी गर्दा पनि भूकम्प प्रभावित क्षेत्र लक्षित खासै कार्यक्रम गरिएको छैन ।

रातोपाटीबाट