☰ open Loading... 24 October 2024|  

सिंचाइ कुलो निर्माण भएपछि किसानलाई सहज
यामराज बिष्ट   | १८ असार २०८१, मंगलवार ०८:५४

दैलेख –दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी भएकी छन् ।उनी गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उनीमा खुशीको सीमा बढेको छ ।वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको खड्को भनाई छ । सिंचाई कुलो निमार्ण भएपछी आफुहरुले पहिलाको जस्तो जग्गा बाझो राख्नु नपरेको उनको भनाई छ।

सिँचाइ कुलो निर्माण भएपछि उत्पादनसमेत वृद्धि हुने गाईखुरे बल्लेपाटा बिरिया छिप्छिपे योजनाका कोषाध्यक्ष डिल कुमारी थापाले बताइन् । यसबाट करिब १२ सय घरधुरी लाभान्वित हुने उनको भनाइ छ । खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय दैलेखको आर्थिक सहयोगमा करिब साढे३ सय मिटर लामो सिँचाइ कुलो निर्माण गरिएको उनले जानकारी दिइन्।
सिँचाई कुलो निर्माणको लागि करिब ३२लाख लगानी भएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय दैलेखका कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लले बताए ।बर्षौ देखि सिंचाईको समस्या भोग्दै आएका किसानलाई सिचाइ कुलो बने पछि ठुलो सहयोग भएको उनको भनाई छ।

सिँचाइ कुलो निर्माण भएपछि दुल्लु नगरपालिका वडा नं–६को महत्वपुर्ण भूभागमा सिँचाइ सुविधा पुग्ने भएकाले उत्पादनसमेत वृद्धि हुने दूल्लु नगरपालिका वडा नं–६का वडाध्यक्ष हस्त बहादुर खड्काले बताए ।उनले सिँचाइ कुलो नहुँदा जमीन बाझो राख्नुपर्ने समस्या थियो, सिँचाइ कुलो निर्माणसँगै समस्या हटेकोे बताए ।वर्षैंदेखि बाँजो रहेको जमिनमा खेती लगाउन सहज हुने भएको जनताका आवश्यक माग सम्बोधन गरि वडा कार्यालयले काम गरिरहेको वडाध्यक्ष खड्काले बताए।