☰ open Loading... 24 October 2024|  

कर्णालीमा उद्यमशीलताबारे गरियो वृहत बहस
पश्चिम नेपाल   | १९ असार २०८१, बुधबार २१:२०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा उद्यमशीलता प्रेरणा सम्मेलन आयोजना गरिएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको सयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा उद्यमशीलता प्रेरणा सम्मेलन गरिएको हो ।

उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलको प्रमूख आतिथ्यतामा भएको सम्मेलनमा कर्णालीमा उद्यमशीलता बृद्धि गरी स्वरोजगारी सिर्जना गर्न छलफल गरिएको हो । सम्मेलनमा सफलताको कथा सुनाउदै उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यम गर्न चाहाने युवाहरुका लागि लगानीको समस्या नरहेको बताए ।

उनले भने, अहिले प्रसस्त लगानी कर्जा लिन सकिन्छ । बैकको व्याजदर पनि घटेको छ । तर उद्यमशीलताका लागि आफु तयार बन्नुस । उनले आफु बाग्लुंङको एक सामान्य परिवारमा जन्मीएर १६ बर्षको उमेरमा बुवा गुमाउदाको अवस्था स्मरण गर्दै लगनशीलता र उद्यमले नै मानिसलाई सफलता हासिल हुने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले उद्यमशीलताका लागि कर्णाली निकै उपयुक्त रहेको बताए । उनले भने, उद्यम गर्नेहरुका लागि कर्णाली खाली पेपर हो ।

यहाँ प्रकृतिले नै आफै सुन्दरता कोरिदिएको छ । तर यहाँ उपयुक्त चित्र कोर्नका लागि युवाहरु तयार बन्नुस । सरकार तपाईहरुको साथमा छ । उनले कर्णालीका १० वटै जिल्ला उद्योग, व्यपार, कृषि पर्यटन, जलबिद्युत, जडिबुटी लगायतका नविनतम श्राृत र साधानहरुको भण्डार रहेको बताए । उनले भने, बिदेशी भुमीमा जुनसुकै कर्म गर्न चाहाने आफ्नो भुमीमा काम गर्दा सानो भईने जस्ता सामाजिक सोच र संरचनाका कारण हामी पछाडी परिरहेका छौँ । अब युवाहरुले काम गर्दा सानो हाईन्, महावन बनिन्छ भन्ने सन्देश दिनुपर्छ । परम्परागत सोच र गलत धारणाको अन्त्य गर्न जरुरी छ ।

मुख्यमन्त्री कंडेलले कर्णालीमा उद्यम गर्ने युवाहरुका लागि सरकारले उचित लगानीको वातावरण बनाउने बताए । उनले भने, यहाँ कार्यक्रमका लागि बजेट भन्दा पनि बजेटका लागि कार्यक्रम बनाउने प्रचलन बढी छ । त्यसलाई निरुत्साहित गरी कार्यक्रमका लागि बजेटको व्यवस्थापन गर्ने गरी तयारी सरकारले गरिरहेको छ ।

कर्णालीमा लगानीकर्ताहरुले बिभिन्न आयोजनाहरु होल्ड गर्ने परिपाटी पनि व्यापक छ । तर कागजमा मात्र नभई फिल्डमै काम गर्न आउने लगानी कर्ता र उद्यमीहरुका लागि सरकारले पनि थप सहयोग गर्ने उनको भनाई छ ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा सहसचिव गोबिन्दप्रसाद रिजालले कर्णालीमा प्रचुर सम्भावनाहरु भएर पनि आर्थिक कृयाकलापहरुमा मुलुककै कम्जोर प्रदेश रहेको बताए । उनले भने, कर्णालीमा १६ लाख ८८ हजार जनसंख्या छ । तर ६ लाख १८ हजार जनसंख्या मात्र आर्थिक क्रियाकलापमा संलग्न छ ।

घरेलु काम बाहेक ३० प्रतिशत भन्दा बढी महिलाहरु बेरोजगार छन् । २६ प्रतिशत मात्र श्रम शक्ति रोजगार छ । यहाँका ४० प्रतिशत मौषमी कामदार भारत जाने गर्छन् । बैदेशिक रोजगारमा १३ हजार ४ सय २६ जना छन् । त्यो पनि मलेसिया र गल्फमा बढी छन् । अन्य प्रदेशको तुलनामा गरिबी, बेरोजगारी, खाद्य असुरक्षा बढी देखिन्छ । जसको मुख्य कारण भनेकै कर्णाली औँधोगिक विकासमा पछाडी पर्नु र नागरिकहरु पनि उद्यमशीलता तिर नलाग्नु हो ।

कार्यक्रममा नबिल बैकका डेपुटि सिईओ मनोजकुमार ज्ञवाली, मुक्तिनाथ विकास बैक मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत ढकाल, बनाना रिसोर्ट टिकापुरकी संचालक आशा हमाल, नेपाल उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष निरक केसी, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल, सुर्यतारा सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेना, उद्योग ग्राम कर्णाली प्रदेशका कार्यकारी प्रमूख उदिरा डाँगी, उद्यमशीलता बिज्ञप्रदीप पराजुली लगायतका व्यक्तिहरुले कर्णालीका १० वटै जिल्लाका युवा उद्यमी तथा उद्यम गर्न चाहाने युवाहरुलाई उद्यमशीलता तिर लाग्ने प्रेरणा दिने गरी प्रशिक्षण दिए ।

कार्यक्रममा उद्यमशीलता विकास, सम्भावना, उद्यम गर्नका लागि बैक तथा बित्तिय संस्थाहरुबाट लिन सकिने सेवा सुविधाहरु लगायतका बिषयमा पनि व्यापक छलफल भएको छ । उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले पहिलो चरण युवाहरुलाई उद्यमशीलता प्रेरणा दिन सम्मेलन आयोजना गरिएको जानकारी दिदै अब उद्यम गर्न चाहाने युवाहरुका लागि आबश्यकता अनुसारका सीपमुलक तालिमहरु पनि संचालन गर्ने तयारी रहेको बताए । उनले भने, युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

पुँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास हाम्रो प्रमुख ध्येय हो । सफल उद्यमीहरु कसरी सफल भए भन्ने बिषयमा अनुभव आदान प्रदान पनि भएको छ । कार्यक्रममा युवा उद्यमीहरुले अब सरकारले सबै युवाहरुलाई देशमै बसौँ बसौँ लाग्नेगरी उद्यमशीलताका कार्यक्रमहरु ल्याउनु पर्ने बताए । उनीहरुले बास्तबिक उद्यम गर्ने युवाहरुको पहुँचमा सरकार पुग्नुपर्नेमा जोड दिए ।