☰ open Loading... 24 October 2024|  

सीमा क्षेत्रमा चोरी डकैतीको आतंक
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार २०:५४

बर्दियास्थित राजापुर–५ की वर्सना चौलागाई बिहीबार दिउँसो भारतीय सीमावर्ती बजार रुपैडियाबाट किनमेल गरी जमुनाह नाकामा आइपुग्दा चोरीको सिकार भइन्।

रिक्साबाट ओर्लिएर भाडा तिर्दै गर्दा नेपालगन्जस्थित जैसपुरका २८ वर्षीय जाबेद दशगडले उनको ब्यागबाट पैसा चोरी गरे। इलाका प्रहरी कार्यालय जमुनाहका सुरक्षाकर्मी र स्थानीयले उनलाई तुरुन्तै पक्राउ गर्न सफल भए।

बर्सनाका अनुसार रिक्साको भाडा तिर्न ‘लेडिज ब्याग’ बाट पैसा झिक्दै गर्दा दशगडले चोरी गरेको थियो। उनले प्रहरीसमक्ष आफ्नो ब्यागबाट ३० हजार रुपैयाँ चोरी भएको बताइन्।

प्रहरी र स्थानीयले पीछा गर्दा दशगडले चोरी गरेको पैसा फालेर भागे। वर्सनाले ३० हजार रुपैयाँ चोरी भएको बताए पनि प्रहरीले २४ हजार मात्र फेला पारेको जानकारी दिएको छ।

केही दिनअघि जमुनाहबाट भन्सार गरी राखिएको एक बोरी चामल पनि चोरी भएको थियो। तर, उक्त चोरीमा संलग्न व्यक्ति पक्राउ पर्न सकेनन्। नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा चोरी डकैतीका घटनाहरू बढ्न थालेपछि नेपाली उपभोक्ता त्रसित भएका छन्।

भारतीय बजार रुपैडियाबाट नेपाल प्रवेश गर्दा सीमा क्षेत्रमा सामान ओराल्नु पर्ने हुन्छ। उपभोक्ताले अर्को भरियामार्फत नेपाल प्रवेश गर्नुपर्छ। जमुनाहको प्रमुख प्रवेशद्वार नजिकै ई-रिक्सा पाइन्छ। प्रवेशद्वारबाट रिक्सा आउन नपाउँदा भरिया प्रयोग गरी नेपाल भित्र्याइने सामान हराउने जोखिम बढेको छ।

इलाका प्रहरी कार्यालय जमुनाहले मासिक करिब पाँच/सात वटा यस्ता घटनाका दोषीलाई पक्राउ गर्छ। तर, सबै चोर पक्राउ पर्न सकेका छैनन्।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) रवीन्द्रबहादुर बमले नेपाली उपभोक्तालाई सामानको सुरक्षाका लागि चनाखो रहन आग्रह गरे। उनले भने, ‘नेपाली उपभोक्ताले आफ्नो सामानको सुरक्षाका लागि चनाखो हुनुपर्छ। कतिपय सामान साटिएका हुन्छन् र कतिपय छुटेका हुन्छन्।’

उपभोक्ताले सीमा क्षेत्रमा हुने चोरी डकैतीका घटना र सामान सुरक्षाका लागि सुरक्षाकर्मी र भन्सार कार्यालयले गम्भीरताका साथ काम गर्नुपर्ने जनाएका छन्।