☰ open Loading... 19 September 2024|  

सोलार बत्ती खरिदमा भ्रष्टाचार: तिरहुतका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा
पश्चिम नेपाल   | २२ भाद्र २०८१, आईतवार २०:०१

सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद र जडानमा भएको भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तिरहुत गाउँपालिकाका-१ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार काम नगरी, वास्तविक भन्दा बढी भुक्तानी गरिएको उजुरीका आधारमा अनुसन्धानपछि अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहसहित ९ जनालाई दोषी ठहर गरेको हो।

अख्तियारको अनुसन्धानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साह, इन्जिनियर उग्रानन्द पाठक र सब-इन्जिनियर जागेश्वर मण्डलले आर्थिक वर्ष २०७४/०७५ मा सोलार बत्ती खरिद र जडानको काम सम्झौता अनुसार नगरेको पाइएको छ।

कम काम गरी बढी काम देखाई, प्राविधिक मूल्यांकनसहित नापी किताब तयार गरी ६ लाख ४५ हजार ६६५ रुपैयाँ बढी भुक्तानी दिइएको तथ्य उजागर भएको हो।

तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, अनुगमन समितिका सदस्य दुर्गानन्द यादव र विरेन्द्र कुमार यादवले पनि योजनाको अनुगमनमा बदनियतपूर्वक बढी काम भएको देखाई प्रतिवेदन पेश गरेका थिए। जसका आधारमा थप भुक्तानी भएको थियो।

उपभोक्ता समितिका अध्यक्ष रबेन्द्र कुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणु कुमारी यादवले नापी किताब, प्रतिवेदन, बिल भरपाई, डोरहाजिरी लगायतका कागजातहरू निर्माण गरी अनियमित भुक्तानीको आधार तयार गरेको पाइएको छ।

विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषीहरूमाथि कैद र जरिवाना सजायको माग गरिएको छ।