बेलौरी नगरपालिका-६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको शौचालयमा चिप्लेर मृत्यु भएको भन्दै बिहीबार साँझ प्रहरीलाइ खबर आयो । इलाका प्रहरी कार्यालयको टोली तत्काल घटनास्थलमा खटियो ।
घटनास्थल पुग्दा अवस्था फरक थियो । रानाको शव चिप्लेको भनिएको शौचालयभन्दा केही पर राखिएको थियो । टाउको ठाउँ ठाउँमा काटिएको जस्तो घाउ । हेर्दै जाँदा कोठाभित्र कुर्सी, टेबल र ढोकामा रगत लागेको थियो । खाटमुनि रगत लागेको इँटाको टुक्रा पनि । दराजभित्र रहेको झोलाभित्र पुरुष र महिलाले लगाउने लुगामा समेत रगत लागेको ।
यिनै विषयले घट्ना शंकास्पद देखेपछि प्रहरीले मृतककी श्रीमती ४३ वर्षीया जनक कुमारीलाई नियन्त्रणमा लियो । सोधपुछ गर्दै जाँदा श्रीमतीले नै हत्या गरेको स्वीकारिन् ।
‘ट्वाइलेटमा लडेर मृत्यु भएको छ, अगाडि र पछाडि चोट छैन, टाउकेको बीचमा चोट देखेपछि शंकास्पद लागेको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले भने, ‘घरभित्रका प्रमाणका आधारमा मृतककी श्रीमतीलाई नियन्त्रणमा लियौं, सोधपुछ गर्दै जादा मध्यराति स्वीकारिन् ।’
उनका अनुसार मृतक रानाको बिमा गरिएको थियो । बिमाकै लागि जनक कुमारीले बिमाका प्रतिनिधि बोलाएकी थिइन् । बिमाका प्रतिनिधिले प्रहरीलाई मुचुल्का बनाइदिन भन्दै खबर गरेका थिए । त्यसपछि मात्रै उक्त घटना बाहिर आएको थियो ।
प्रहरीका अनुसार राना दम्पतीबिच नियमित झगडा भइरहन्थ्यो । रानाले श्रीमतीलाई यातान दिने गरेका थिए । बिहीबार बिहान पनि उनीहरुबिच झगडा भएको थियो । सियाराम दिउसो सुतेका बेला जनक कुमारीले इटाको टुक्राले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । ‘सुतेका बेला इटाले टाउकोमा हानेर हत्या गरेको निजकी श्रीमतीले स्वीकारेकी छिन्,’ एसपी जोशीले भने ।
राना दम्पतीका १० वर्षकी एक छोरी छिन् । घटनाका बेला उनी स्कुल गएकी थिइन् । प्रहरीले घटनास्थलबाट रगत लागेको इँटा, झोला, कपडा र मोबाइल बरामद गरेको छ ।
श्रीमान्को हत्या गरेको स्वीकारेकी जनककुमारीलाई शुक्रबार जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जोशीले बताए । प्रारम्भिक अनुसनधानमा नियमित झगडा र यातनाका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।