☰ open Loading... 22 December 2024|  

दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी
पश्चिम नेपाल   | ७ पुष २०८१, आईतवार ०९:५२

दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार शनिबारसम्म तीन हजार आठ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको छ। अव दुई सय मिटर ड्रिलिङ बाँकी छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ सुरु गरिएको थियो। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले पुस महिनाभित्र ड्रिलिङको काम सम्पन्न हुने बताए।

‘सात महिनामा तीन हजार आठ सय मिटर ड्रिलिङ सम्पन्न भएको छ,’ लुइँटेलले भने, ‘यो महिनाभित्र ड्रिलिङ र अरू प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ चिनियाँ र नेपाली टोलीले दुई चरणमा ड्रिलिङको काम गर्दै आइरहेको छ। जियोलोजिष्ट लुइँटेलका अनुसार दैनिक १५ देखि २० मिटरसम्म ड्रिलिङ हुने गरेको छ। दैलेखको पञ्चकोसी क्षेत्रमा वर्षौदेखि ज्वाला बलिरहेको र यस क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास रहेको अनुसन्धानबाट देखिएपछि अन्वेषण सुरु गरिएको हो।

ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ। प्राविधिक टोलीले प्रत्येक मिटरबाट संकलन गरेको स्याम्पल ड्रिलिङस्थल, खानी तथा भूगर्भ विभाग र चीनमा परीक्षणका लागि पठाउँदै आइरहेको छ। विभागले चार महिनाभित्र संकलित नमूनाको अन्तिम रिपोर्ट आउने बताए। ‘चार हजार मिटरसम्म ड्रिलिङ गरेर त्यसको नमूना संकलन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘संकलित नमुना विभिन्न ठाउँमा परीक्षण गर्न र पेट्रोलियम पदार्थ भण्डारणको अवस्थाका बारेमा अन्तिम रिपोर्ट तयार हुन चार महिनाको समय लाग्ने अनुमान गरेका छौं।’ शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चीन सरकारसँग सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो। चीन सरकारको दुई अर्ब ५० करोड रूपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको छ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे तोकिएकै समयमा सम्पन्न गरेको थियो भने ड्रिलिङको काम पनि तोकिएको समय अगावै सम्पन्न गर्न लागेको छ। यो क्षेत्रमा पेट्रोलिय पदार्थ भए/नभएको र भएमा व्यावसायिक रूपमा निकाल्दा फाइदा हुन्छ कि हुँदैन भन्ने तय गर्न यो ‘ड्रिलिङ’ महत्वपूर्ण हो। ‘यसअघि भौगोलिक सर्वेक्षणका लागि सानो खालको ड्रिलिङ मात्र गरिएको हो, अन्वेषणका लागि हुन लागेको यो अन्तिम ड्रिलिङपछिको प्रतिवेदनले वास्तविक कुरा पत्ता लगाउँछ,’ उनले भने, ‘अन्वेषणबाट तेल वा ग्यास छ भन्ने पत्ता लागेमा उत्पादनको ढोका खोल्ने छ।’

नेपाली प्राविधिकका अनुसार पछिल्लो समय ड्रिलिङका क्रममा पेट्रोलियम पदार्थको बासना आउन थालेको छ। ‘शिरस्थान, नाभिस्थान र पादुकास्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान हामी सबैको थियो, अहिलेसम्मको अनुसन्धानले पनि त्यही देखाएको छ,’ ती नेपाली प्राविधिकले भने, ‘कति मात्रामा छ, निकाल्न मिल्छ वा मिल्दैन भन्ने कुरा नमूना परीक्षणपछि आउने अन्तिम प्रतिवेदनले बताउला।’