दैलेख – जिल्लाको नौमूले गाउँपालिका–६ सिलाडीकी सपना नेपाली घाँस काट्दै गर्दा बिजुलीको करेण्ट लागेर घाइते भएकी छिन् । नौमूले गाउँपालिका–६ सिलाडीकी १७ वर्षीया सपनाले बुधबार साँझ घाँस काट्दै गर्दा बिजुलीको तारमा छोइएर करेण्ट लागेको नौमूले गाउँपालिका–६ की वडासदस्य खगिसरा बिकले जानकारी दिइन् ।
काउलोको रुखमा घाँस काट्दै गर्दा रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागेको हो । उनलाई उद्धार गर्न गएका दाजु २० वर्षीय खगेन्द्र नेपाली समेतलाई करेट लागेको थाहा पाएर स्थानीयले बिद्युत प्राधिकरणमा खबर गरेर बिजुली आपूर्ति बन्द गरेपछि स्थानीयले उनीहरु दुबै दाजुबहिनीको उद्धार गरेका थिए ।
खगेन्द्रलाई सामान्य झमझमाएको बाहेक अरु खास समस्या देखिएको छैन । करेण्टले सपनाको दाहिने हातको हत्केला, देब्रे हातको पाखुरा, देब्र खुट्टामा बिजुलीको करेण्टले आंशिक जलेको अवस्थामा दैलेख अस्पतालमा उपचार भइरहेको छ ।