☰ open Loading... 30 January 2025|  

दैलेख विकासको गुरुयोजना बन्दै
पश्चिम नेपाल   | १२ माघ २०८१, शनिबार २०:३७

समृद्ध दैलेखका लागि गुरुयोजना निर्माण गरिने भएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा शनिवार आम भेला गरी गुरुयोजनाबारे छलफल चलाइएको हो।

दैलेखबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व मन्त्रीहरू, हालसम्मका संसद्, जिल्लाका क्रियाशील राजनीतिक दललगायत सरोकारवालाको उपस्थितिमा छलफल गरिएको छ।

जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना तथा कार्यक्रममा पहिचान तथा प्राथमिकताबारे सरोकारवालाबीच छलफल गरिएको छ।

गुरुयोजनामा स्वास्थ्यतर्फ जिल्ला अस्पताललाई भावी १५ वर्षमा २ सय शैयामा सञ्चालन गर्नेदेखि मेडिकल कलेज खोल्नेसम्म योजनामा छलफल भएको छ।

यस्तै शिक्षातर्फ लोपोन्मुख राउटे समुदायको मातृ भाषा संरक्षण, राउटे विद्यार्थीका लागि विद्यालय सञ्चालनदेखि सबै पालिकाहरूमा ५ वर्षभित्र क्याम्पस स्थापना गर्नुपर्ने प्रस्ताव सरोकारवालाले राखेका छन् ।

यस्तै पूर्वाधारतर्फ खानेपानीका बृहत् योजना, कृषि, पर्यटन, उद्योग, सहरी विकासदेखि सडक यातायातसम्मका विषय गुरुयोजनामा प्राथमिकीकरण गरेर राख्नुपर्ने सवाल उठेका छन्।

प्रस्तावित गुरुयोजनाको कार्यान्वयन अवधि १५ वर्षसम्मको रहने गरी खाँका तय गरिएको छ।

गुरुयोजना कार्यान्वयन निर्देशन समितिसमेतको परिकल्पना गरिएको छ । समृद्ध दैलेख बनाउने सम्बन्धमा सरोकारवालाबीच राम्रो छलफल भएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।