अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली प्रदेशका ८ जना महिला उद्यमीले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्धारित मापदण्डअनुसार छनोट गरी उनीहरूलाई यो रकम प्रदान गरिएको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘एक जिल्ला, एक महिला उद्यमी’ पुरस्कृत गर्ने लक्ष्यअनुसार यो पुरस्कार वितरण गरेको जनाएको छ।
वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा ती महिला उद्यमीहरूलाई पुरस्कृत गरिएको थियो। कर्णालीका १० जिल्लामध्ये ८ जिल्लाका उद्यमीले पुरस्कार प्राप्त गरे पनि जाजरकोट र रुकुम पश्चिमबाट भने प्रतिनिधित्व हुन सकेन। पुरस्कृत हुनेहरूमा डोल्पाको जगदुल्ला गाउँपालिका–३ की करुणा घरेलु तथा अल्लो उद्योगकी सञ्चालक ललिता थापा, हुम्लाको सिमकोट गाउँपालिका–५ की लक्ष्मी सिलाई कटाई उद्योगकी सञ्चालक लछु भण्डारी, जुम्लाको तातोपानी गाउँपालिका–५ की सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगकी सञ्चालक नारायणी चौलागाईंलाई पुरस्कारसहित सम्मा गरिएको हो।
त्यस्तै, सुर्खेतको वनगाड कुपिण्डे नगरपालिका–१० की दिदीबहिनी बाख्रा फार्मकी सञ्चालक गीता कुमारी पुनमगर, कालिकोटको रास्कोट नगरपालिका–५ की शाही पोल्ट्री फार्मकी सञ्चालक सीता शाही, दैलेखको नारायण नगरपालिका–६ की विन्दु सिलाई कटाई उद्यमकी सञ्चालक विन्दु कुमारी उपाध्याय, मुगुको छायाँनाथ रारा नगरपालिका–२ की सविना टेलर्सकी सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ की देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रा.लि.की सञ्चालक सुजाता पाण्डे रहेका छन्।
उनीहरूलाई महिला दिवसको अवसरमा उत्कृष्ट उद्यमीको रूपमा जनही १ लाख रुपैयाँ प्रदान गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाकी छैटौं तहकी अधिकृत विना थापाले बताइन्।
विकट जिल्लाहरूमा उद्यमशीलताका कार्यहरू गर्दै आएका यी उद्यमीहरूलाई सरकारले पुरस्कृत गरेपछि आफूहरू निकै खुसी भएको जुम्लाकी पुरस्कृत उद्यमी नारायणी चौलागाईंले बताइन्। ‘विगतमा उत्पादन गरेका सामग्रीहरू बेच्न लाज लाग्ने र ‘कसले के भन्ला’ भन्ने सोच्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘अहिले मुख्य चुनौती भनेको उत्पादित सामग्रीको बजार व्यवस्थापन र ढुवानीको उच्च लागत हो। सरकारले यो पक्षमा ध्यान दिए अझ सहज हुने थियो।’
कार्यक्रममा कर्णाली प्रदेशका जलश्रोत तथा ऊर्जा मन्त्री विजया बुढा प्रमुख अतिथि रहेकी थिइन् भने भौतिक योजना राज्यमन्त्री गमता विक विशेष अतिथि थिइन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पूर्वमन्त्रीहरू, प्रदेश सभाका महिला सांसदहरू, मन्त्रालयका सचिवहरू र सरोकारवालाहरूको पनि उपस्थिति थियो।