जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका किसानले लगाएको वर्खे आलुमा किराको प्रकोप देखिएको छ । आलु बेचेर नै जिविकोपार्जन गर्दै आएका किसानले १७ हेक्टर जग्गामा लगाएको वर्खे आलुमा किराको प्रकोप देखिएको हो ।
वर्खे आलुमा किराको प्रकोप देखिएपछि निगालचुलाका ६८ किसान परिवार प्रभावित भएका छन् । वर्खे आलुबाट वार्षिक २ करोड भन्दा बढी भित्र्याउदै आएका किसान यसपटक किराको कारण मारमा परेका छन् ।
झसिलकिराको लार्भा जस्तो देखिने किराले आफ्नो सात रोपनी जग्गामा लगाएको आलुका पात, कलिला डाठ खाएर सखाप पारेको र बोट सुक्न थालेको किसान जीतबहादुर ओलीले बताए ।


सुरुसुरुमा दुई/चार वटा बोटमा देखिँदा खासै मतलव नगरेको र अहिले सबैजसो बोट किराले खाएको उनले जानकारी गराए । ‘यो भन्दा अघि यस्तो किराको प्रकोप देखिएको थिएन । फेद कटुवा किराले अलि अलि क्षति गर्थ्यो, जैविक विषादी प्रयोग गर्दा ठिक हुन्थ्यो । अहिले विषादी प्रयोग गर्दा पनि किरा हराएको छैन,’ उनले भने, ‘वर्खे आलु उत्पादन गरी आम्दानी भएको रकमले घर खर्च चल्थ्यो । धेरैजसो बोट सखाप भैसकेकाले कसरी घर खर्च चलाउने भन्ने चिन्ताले सताउन थालेको छ ।’
झन्डै एक महिना यता किसानले लगाएको आलुबालीमा किराको प्रकोप देखिएको र धेरै जसो सखाप पारेको वडाध्यक्ष लालबहादुर घर्तीले बताए । किसानले विषादी छरे पनि किरा नमरेर झनै फैलिएपछि कर्णाली प्रदेशको एकीकृत प्रयोगशालाको विज्ञ टोली आएर स्थलगत अनुगमन गरेको उनले जानकारी गराए ।



