☰ open Loading... 29 September 2025|  

ब्राजिलमा चक्रवात आँधीका कारण ४४ जनाको मृत्यु
पश्चिम नेपाल   | २६ भाद्र २०८०, मंगलवार १२:१८

ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवात आँधीका कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ। ४६ जना अझै बेपत्ता रहेका छन्।

ब्राजिलको नागरिक सुरक्षा निकायले आइतवार दिएको जानकारी अनुसार आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा गत सोमवारदेखि मुसलधारे वर्षा, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी, बाढी र पहिरो गएको थियो।

तीमध्ये एक जनाबाहेक सबै जनाको मृत्यु रियो ग्रान्डे डो सुलमा भएको थियो। जहाँ २२४ जना घाइते भएका थिए भने १४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो।

सबैभन्दा बढी प्रभावित शहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको छ।

ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले आइतवार उक्त क्षेत्रको भ्रमण गरी चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई करिब १६० अमेरिकी डलर क्षतिपूर्ति दिने सरकारको योजनाको घोषणा गरेका थिए।