☰ open Loading... 26 April 2024|  

सुर्खेतमा पारिवारिक विवाद हत्या श्रृङ्खलाको ‘बञ्चरो’ : जग्गा विवाददेखि अनैतिक सेक्स !
  | १८ भाद्र २०७४, आईतवार १४:३३

मदन विक
सु्र्खेत । सुर्खेतमा पछिल्ला १८ दिनमा तीन जनाको हत्या भएको छ । प्रहरीले अनुसन्धान जारी राखेका घटनामा दोषी पक्राउ परिसकेका भएपनि एकपछि अर्को हत्याका घटनाले आन्तरिक सुरक्षा चुनौति बढेको छ । आन्तरिक विवादका कारण भएका घटनामा जग्गा विवाददेखि अनैतिक सम्बन्ध ‘सेक्स’ सम्म छन । दुई जनाको हत्यामा त बञ्चरो साधन बनेको छ ।

घटना १. श्रीमतिसँग ‘सेक्स’ गर्ने होटलका ग्राहकलाई बञ्चरो प्रहार गरी हत्या
घटना भदौँ ९ गतेको हो । आफ्नै होटलमा बस्ने ग्राहकले श्रीमतिसँग ‘सेक्स’ सम्बन्ध राख्ने गरेको सुइको पाएपछि होटल सञ्चालक देवी ढकालले दाया बाया केही सोचेनन् । सोचुन पनि कसरी ? जसलाई भात दाल खुवाएर आफ्नै घरजस्तो होटलमा बसालेको छ, उसैले घरबार उजाड गर्ने मेलो समातेपछि । घटना वीरेन्द्रनगरकै मामा भाञ्जा होटलको हो ।

श्रीमतिसँग यसरी लुकीछिपी सेक्स गर्ने कालिकोटका रतन शाहीलाई ढकालले उनकै कोठामा गएर बञ्चरो हाने । बञ्चरो लागेपछि ऐया पनि नभनी सास छाडेका शाही विद्यार्थी थिए । कालीकोट तिलागुफा नगरपालिका–११ बाट पढ्नका लागि सुर्खेत आएका उनी आफ्नै असावधानिक र अनैतिक सम्बन्ध राख्ने बानीबाट हत्याका शिकार भए ।

हत्याको रोलमोडल अनैतिक याैन सम्वन्ध
घटना घटेपछि प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भएन । सञ्चालक ढकाल पक्राउ परेपछि प्रहरीको अनुसन्धान नलम्बिकनै कारण पत्ता लाग्यो अनैतिक सम्वन्ध । होटलका ग्राहकसँग सुत्न पल्केकी अाफ्नै श्रीमतिलाई पनि बाँकी नराख्ने याेजना बनाएका ढकाल भने चुके ।

उनले दोषी ग्राहकलाई बञ्चरो हानेपछि श्रीमति भने भागिन । तर उनले ज्यान भने जोगाइन । प्रहरी समक्ष पनि ढकालले श्रीमतिले अनैतिक सम्वन्ध राखेकै कारण हत्या गरेकाे वयान दिएकाे प्रहरीले जनायाे ।

तर अकल्पनीय घटनाको केन्द्रबिन्दु भएर हत्याको रोलमोडल बनिन । प्रहरीले हत्याका आरोपित ढकाललाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अगाडी बढाएर जेल चलान गर्ने प्रक्रियामा छ । तर प्रहरीले यस्ता जघन्य अपराधको बिजारोपण मानिने अनैतिक सम्बन्ध सेक्सलाई कसरी रोक्ला ? कस्तो अभियान चलाउला ?

घटना २ :  जग्गा कम दिएकी आमालाई मृत्यु उपहार !
विवाद सामान्य हो । तर घटना असामान्य रुपमा घट्यो । घर जग्गा विवादमा यस्ता घटना नौला नभएपनि आफुलाई भाग कम दिएको भनेर सायदैले आफ्नै आमाको हत्या गर्लान ! भदौ ६ गते वीरेन्द्रनगर–१० मा छोराले आमालाई खुकुरी चोट दिएर हत्या गर्दा कारण यही बन्यो ।

३८ वर्षका रबी खनालले घरायसी विवादका कारण ७१ वर्षीय आमा टीकावती खनालमाथि खुकुरी रोपे । अनि प्रहरीलाई वयान दिए, आफुले नै धरपकड गरी आमाको हत्या गरेको हो । प्रहरीले यसैलाई हत्याको मुख्य कारण भनेको छ । बाँकी अनुसन्धान जारी छ । छिमेकीले दिएको यही बयानलाई प्रहरीले घटना घटेको बताएपनि यस्ता समस्याको दिगो समाधान के हो ? खुट्याउन सकेको छैन ।

सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्य भन्छन् ‘हामी दिगो समाधानका साधन होइनौँ । भएका घटनाको सत्य तथ्य पत्ता लगाउने र दोषीलाई कारबाही गर्ने माध्यम मात्र हौँ । बाँकी सामाजिक सोच र त्यसलाई घटाउने चेतनामुलक कार्यक्रममा भर पर्छ ।’

घटना  ः हनिमुन समय पार नगर्दै श्रीमतीको हत्या !
हनिमुन समय पार गर्न नपाउँदै सुर्खेत वीरेन्द्रनगरको एक विवाहित जोडी सधैका लागि छुट्टियो । त्यो पनि आन्तरिक विवादका कारण । गत साउन ३२ गते वीरेन्द्रनगर–१२ चनौटेका चक्र परियारले श्रीमतीमाथि बञ्चरो छप्काए । भर्खरको जोडी यसरी सधैका लागि छुटिएला भनेर कसैले सोचेका थिएनन् ।

तर अचम्मित रुपमा चक्रले नवदुलहीलाई रिसको झोकमा बञ्चरो प्रहार गरे । दर्दनाक हत्या भोगेकी पवित्रा दुई पटकसम्म भागेर ज्यान बचाउन सफल भएकी थिइन । तर तेश्रोपटक उनको प्रयास असफल भयो । दैनिकजसो यातना दिइरहने चक्रले उनलाई अन्ततः हत्या गरेरै छाडे ।

दुई महिना अघि आफ्नै श्रीमानले रंङग्याएको सिउदो बञ्चरोले हानेर रगताम्य बनेर पखालियो । जीवनभर संगै बाच्ने र मर्ने भनेर कसम खाएका उनीहरुको यति कारुणिक विछोड कसरी भयो ? प्रहरीले अनुसन्धान जारी राखेपनि आन्तरिक विवाद मात्रै भनेको छ ।

चक्र या पवित्रा मध्ये कोही एक जनाको बाहिर अरुसँग पनि प्रेम सम्बन्ध रहेका कारण घटना हुन पुगेको प्रहरीको अनुमान भएपनि पुष्टि भएको छैन । हत्याका आरोपित चक्र पक्राउ त परेका छन । तर यसले महिला हिंसा र आन्तरिक सुरक्षाको पाटो निकै कमजोर भएको दृश्य देखाएको छ ।

महिला हिंसाको डरलाग्दो रुप : जनचेतना अभाव
‘सम्भावित दुर्घटना हुन सक्ने यस्ता पारीवारिक खटपटका विवाद पहिल्यै आउनुपर्छ’ एसपी आचार्य भन्छन ‘महिला हिंसाका घटना आफैमा कानुनविपरित हुन । यसको समाधान हत्या होइन । जतिसक्दो चाडोँ न्यायिक प्रक्रिया हो । तर त्यसका लागि प्रहरीलाई पहिल्यै जानकारी गराउनुपर्यो । तर हत्या भइसकेपछि हामीलाई खबर आउँछ । जो समाधान होइन ।’

यस्ता डरलाग्दा घटनाको न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले जनेचतनामुलक अभियानहरु चलाउनुपर्ने एसपी आचार्यको सुझाव छ । तर सबैभन्दा महत्वपूर्ण कुरा आफुमाथि हिंसा वा हत्या हुनसक्ने जोखिम छ भने पहिला प्रहरीलाई जानकारी या उजुरी दिनुपर्ने उनको निष्कर्ष छ ।