☰ open Loading... 26 July 2024|  

आकाश मडारियोकी, ‘जाग्राम’
  | ८ जेष्ठ २०७३, शनिबार ०८:५९

वीरेन्द्रनगर नगरपालिका–१३ स्थित झुप्राखोलाका विष्णुबहादुर वादी तीन दिनभयो ढुक्कले निदाउन पाएका छैनन् । केही दिन यता रातिमा झरीमा पर्न थालेपछि आउने बाढीले भेरीमा विलय गराउने हो भन्ने चिन्ता छ विष्णुलाई ।

‘बगरमा बाँस छ, बगाउने हो की भन्ने पिरलो छ’ उनले भने,–‘झरी परेपछि रातभर जाग्राम बस्छु, कतै खोलो बस्तीमा आइजान्छ की ?’ ‘खोला किनारमा बस्छौं, वस्ती नजिक सामान्य झरी परेपनि लेखमा बढी पर्छ’ उनले थपे ।

‘हातनंग्रा खियाएर धौ–धौसंग जोडेको सम्पति र बालबच्चा बगाउँछ की भन्ने चिन्ता लाग्छ ।’ विष्णु मात्रै हैनन्, सोही ठाउँ निवासी लक्ष्मी वादी पनि बादल मडारिया की तनावमा हुन्छिन् । ‘हिउँदमा चिसोको पिरोलो, बर्खामा बाढीको छ, सरकार, हाम्रो व्यथा सुन्दैन् यसरी नै दिन वितेको लक्ष्मीको बताईन् ।

झुप्राखोलामा किनारमा ११६ भूमिहिन घरपरिवारको बसोबास छ । अल्पसंख्यक वादीका ८७, राजीका ६ र बाँकी घर ठकुरी, मगर समुदायका छन् । आफ्नो पुख्र्यौली पेशा–व्यवसाय संकटमा परेपछि खोला किनारमा बस्न थालेका वादी समुदाय बालुवा चालेर जीविका चलाउँदै आएका छन् ।

वीरेन्द्रनगरका अधिकाँश घर निर्माणमा वादी सामुदायले चालेको बालुवाले महल ठडिएका छन् । अरुका महल बनाउन नङ्ग्रा खियाउने वादी समुदाय झुपडीमा खोलाको बगरमा रात विताउन बाँध्य छन् ।

यहाँका अधिकांश युवाहरु गाडी लाइनमा काम गरेर गुजरा चलाउने गरेको वादी समुदायका अगुवा विष्णु वादी बताउँछन् । महिला र बालबालिहरु भने झुप्रा खोलाको बालुवा चालेर गुजारा चलाउँदै आएका छन् ।

‘पुरुषहरुलाई कालापहाड (भारत) नगई नहुने बाध्यता छ’ स्थानीय खगिसरा वादीले भनिन्–‘बालुवा चालेर कमाएको पैसाले परिवारको पालनपोषण तथा घरखर्च चलाउनै प¥यो यसरी नै दैनिकी वित्छ ।’

हालसम्म झुप्रा खोलामा बस्दै आएका वादी समुदायका नाममा एक टुक्रा जमिन समेत छैन् । वर्षौंदेखि भूमिहिन भएकाले खोला किनारमा बस्नु बाहेक अन्य ठाउँ जान विकल्प नभएको खगिसराको दुःखेसो छ ।

Badi Basti copy
वीरेन्द्रनगर नपा–१३ झुप्राखोलास्थित भूमिहिन वादी र राजी समुदायको बस्ती ।

झुप्रा खोलाबासी वर्षेनि बाढीबाट प्रताडित बन्दै आएका छन् । बर्षातमा भने राती टहरा छाडेर ओडार खोज्दै जंगल चहार्नु परेको अगुवा विष्णु बताउँछन् । २०६६ सालमा आएको बाढीले मात्रै ४२ घर भेरीमा विलयमा भएका थिए ।

तर २०७१ सालको बाढीले समेत बस्ती क्षती पु¥याएको अगुवा विष्णु भनाई छ । ‘सम्पति बगाएपनि ज्यान जोगायौं, यहाँ नबसी कहाँ जाने ?’ स्थानीय तारा वादीले भनिन्, ‘यहाँ नबसे पेट पाल्न गाह्रो छ ।

अन्यत्र जाँदा छाक पनि गुम्ने भएकाले जोखिममा खोला किनारामा काम गर्न बाँध्यछौं ।’ किनारमा बसेर चालेको बालुवाले कम्तीमा बिहान–बेलुकाको छाक टार्न मद्दत पुगेको वादी समुदायहरु बताउँछन् ।

पुर्खाले जस्तै मादल, सुल्पा बनाई बिक्री गर्ने, चाडपर्व, उत्सवमा नाचगान गरी पैसा कमाउन नसकिने तर्क लक्ष्मीको छ । ‘जमाना फेरियो, पुख्र्यौली पेशाको कसरी संरक्षण गर्नु’ लक्ष्मीले थपिन्,–‘हात–हातमै सवै देख्न पाइन्छ, हाम्रो नाच कस्ले हेर्छ ? समयसंगै पेशा संकटमा परेपछि विभिन्न स्थानमा छरिएर रहेका वादी समुदाय शहर आसपासमा केन्द्रित हुने गरेका छन् ।

सुर्खेतमा भने सवैभन्दा धेरै वादी समुदाय झुप्रा खोला र राकम गाविसमा बसोबास गर्दै आएको वादी समुदायका अगुवा ताराले बताईन् । ‘पुर्खाले बालीघरेबाटै परिवार पाल्ने गरेका थिए । तर आजभोली त्यो हरायो ।’ ताराले भनिन्,–‘मजदुरी गरी परिवार पाल्न ऐलानी जग्गाको सहारा लिनु बाहेक अन्य विकल्प पनि त छैन् ।’

सरकारले आफुहरुजस्ता भूमिहिन अल्पसंख्यक वादी समुदायका लागि केही नगरेको गुनासो उनीहरुको छ । विष्णुबहादुरले सरकारले दिगो बसोबासका लागि सुरक्षित स्थानको व्यवस्था गरिदिएको भए खोला किनारा बस्न रहर नभएको बताए ।

‘वर्षौंदेखि सरकारलाइ झकझकाउने काम गरेपनि कुनै वास्ता छैन् ।’ लक्ष्मीले भनिन्,–‘हामी पनि यही देशका नागरिक हौं, सरकारको विभेदकारी नीति राम्रो भएन् ।’

कम्तिमा जग्गा र रोजगारीको वातावरण सिर्जना सरकारले गरिदिएको भए बादल मडारियो की जाग्राम बस्नु पर्ने समस्याको निराकरण हुने ताराले बताईन । उनले सरकारले कुनै वास्ता नगरेकै कारण वादल लाग्यो भने बाढीको चिन्ता ढुक्कसंग बस्न र कमाउने चिन्ता हुने गरेको दुःखेसो पोखिन् ।