☰ open Loading... 24 November 2024|  

कसरी बन्ने कूटनीतिज्ञ ?
  | २९ श्रावण २०७३, शनिबार ०९:३४

नेपालको एउटा विश्वविद्यालयमा मात्र पढाइ हुने ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषय अध्ययनमा विद्यार्थीको आकर्षण धेरै छ । मध्यपश्चिमान्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति अध्यापन गराउँदै आएको छ । विद्यार्थीको रुचिको यो विषय मध्यपश्चिमान्चल विश्वविद्यालयले पढाउन थालेपछि कूटनीति अध्ययनका लागि विदेश जानुपर्ने बाध्यतासमेत हटेको छ ।

मध्यपश्चिमान्चल विश्वविद्यालयले अध्यापन गराउने अरू विषयमा विद्यार्थी संख्या निर्धारित कोटाभन्दा ज्यादै न्यून छ । तर, ४० जना विद्यार्थीको कोटा छुट्याइएको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई सयभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने गरेका छन् । सीमित कोटा भएका कारण धेरै इच्छुक विद्यार्थीले यो विषय पढेर भविष्यमा कूटनीतिक क्षेत्रमा लाग्ने अवसर पाएका छैनन् ।

नेपालमा दुई वर्ष अघिदेखि कूटनीति विषयको औपचारिक अध्यापन सुरु भएको हो । तर, विश्वबजारमा एक सय वर्ष पहिलेदेखि नै कूटनीति सम्बन्धका विषयमा पढाइ सुरु भइरहेको छ । युरोपमा एक सय वर्षपहिले अन्तर्राष्ट्रिय सम्बन्धको पढाइ सुरु भएको थियो । त्यस्तै, औपनिवेशिक देशहरूले सन् १९५० देखि यो विषय पढाउँदै आएका छन् ।

हाम्रो उद्देश्य राज्यलाई चाहिने जनशक्ति उत्पादन गर्ने हो । सक्षम कूटनीतिज्ञ उत्पादन गर्न र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी ज्ञान परिस्कृत गर्न यो विषयको अध्ययन आवश्यक छ ।

त्रिविले २०३० सालमा नै राजनीतिशास्त्रभन्दा फरक रूपमा यो विषय अध्यापन गराउने प्रयत्न गरेको थियो । नयाँ र एक मात्र कार्यक्रम भएकाले विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, सूचना प्रविधि क्षेत्रका विद्यार्थीको पनि यो विषयमा आकर्षण छ । स्नातक पढ्न विदेश गएकाहरू पनि अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनका लागि नेपाल आउने गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्रनीति र कूटनीति सञ्चालकका लागि आधारभूत शास्त्रीय ज्ञान प्राप्त गर्न यो विषय महत्त्वपूर्ण छ । अन्तर्राष्ट्रिय सम्बन्ध विषयलाई सामाजिक शास्त्रको एउटा विधाको रूपमा समेत लिने गरिन्छ ।

विभागमा गेस्ट लेक्चरका रूपमा नेपालस्थित विभिन्न मुलुकका राजदूत, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू, नेपाली पूर्वकूटनीतिज्ञ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखलाई पनि सामेल गराइएको छ ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा सक्रिय व्यक्तिका अनुभव र कूटनीतिक कौशलसमेत सिक्ने अवसर विभागले जुराएको छ । यसका साथै, नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषयमा विभागले सेमिनार आयोजना गर्ने र अध्ययनरत विद्यार्थीलाई त्यसमा सामेल गराएर उनीहरूलाई कूटनीतिक क्षेत्रमा लाग्न थप प्रोत्साहनसमेत गर्दै आएको छ ।

कस्ता विद्यार्थीले पढ्ने ?
–   +२ वा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएकाले मात्र प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् ।
–   अंग्रेजी राम्रो भएको व्यक्ति यो बिषय अध्ययन गर्न आउँदा राम्रो हुन्छ ।
–    +२ वा स्नातकमा अंग्रेजी विषय अध्ययन गरेकालाई सजिलो हुन्छ । तर, क्षमता भएमा जुनसुकै क्षेत्रबाट आए पनि हुन्छ ।
–   कूटनीतिक सेवा, निजामतीमा परराष्ट्र सेवा तथा गैरसरकारी क्षेत्रमा काम गर्न चाहनेहरूका लागि यो विषय उपयुक्त हुन्छ ।
–   सैद्धान्तिक कुराहरूमा रुचि भएको, अन्तर्राष्ट्रिय कूटनीति, अर्थशास्त्र, बसाइँसराइलगायतका क्षेत्रमा रुचि भएका व्यक्तिहरूलाई पनि यो विषय राम्रो हुन्छ
–   म।पको कोर्स साना राष्ट्रको सुरक्षामा केन्द्रित भएकाले यसमा रुचि हुनेहरूलाई अझ राम्रो हुन्छ

कहाँ पाइन्छ अवसर रु
अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्नेहरूको प्रमुख आकर्षण नेपाल सरकार अन्तर्गतको परराष्ट्र सेवा नै हुन्छ । यो विषय अध्ययन गर्न आउने अधिकांश विद्यार्थी कूटनीतिक क्षेत्रमा जान चाहन्छन् । त्यस्तै, विभिन्न एनजिओ, आइएनजिओमा पनि यस्ता विद्यार्थीको माग हुने गर्दछ । त्यसैगरी, विभिन्न कलेजहरूमा शिक्षकका रूपमा पनि अवसर प्राप्त गर्न सक्छन् ।

यो विषय पढ्दै गर्दा पनि राम्रो एक्सपोजर पाइन्छ । मध्यपश्चिमान्चल विश्वविद्यालयले काठमाडौंमा भएका कूटनीतिक नियोग भारत, अमेरिकालगाएतका कार्यालयमा इन्टर्नसिपमा पठाउने व्यवस्थासमेत गरेको छ ।

त्यसैगरी, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, नेपालस्थित विभिन्न दूतावासहरूले पनि इन्टर्नसिपको व्यवस्था मिलाएका छन् । चौथो सेमेस्टरका विद्यार्थीका लागि भारतको जवाहरलाल नेहरू विश्वविद्यालय,ओ.पी. जिन्दाल,एआईडीएमा पनि इन्टर्नको अफर छ ।

अध्ययनमा खर्च कति ?
मध्यपश्चिमान्चल विश्वविद्यालयमा स्नातकोतर चार सेमेस्टर र स्नातक आठ सेमेस्टरमा अध्यापन हुने यो विषयमा जम्मा रु। ३३,००० र रु। ३०,००० शुल्क निर्धारण गरेको छ । विद्यार्थीले सेमेस्टरपिच्छे किस्ताबन्दीमा शुल्क तिरेर अध्ययन गर्न सक्नेछन् । अध्ययन सकिएपछि प्रवेश गरेको सेवा र क्षमताअनुसार विद्यार्थीले आम्दानी गर्न सक्छन् ।

(लेखक : विद्यार्थी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग,मध्य पश्चिमान्चल विश्वविद्यालय हुन् )