पश्चिम नेपाल सम्वाददाता
बझाङ, २४ साउन ।
शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् ।
बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्दै शिक्षक धुब्र शाहीले दिपाको तालुमा एक मुडकी हानेपछि उनको टाउको बेन्चमा ठोक्किएको र उनी बेहोस भएको दिपाका सहपाठीहरुले जानकारी दिएका छन् ।
छात्रा बेहोस भए पछि विद्यालयले नै तत्काल गाडी खोजेर उनलाई उपचारका लागी धनगढी पठाएको थियो । उपचारका लागि सहयोग गर्न भन्दै विद्यालयकै शिक्षक विनोद थापालाई पनि सँगै पठाएको छ भने छात्राका दाजु र आमा पनि छात्राको उपचारको लागी धनगढी गएका छन ।
विद्यालयले भने छात्रा आफै बेहोस भएको र पहिला पनि उनी वेहोस हुने गरेको बताएको छ । ‘दिपाको पहिले नै टाउकोमा चोट लागेको रहेछ त्यै भएर उनी पहिला पनि बेहोस हुने गर्थिन’ विद्यालयका प्राचार्य गणेश बोहराले भने ‘खेल्ने क्रममा बेहोस भएकी हुन । कुनै शिक्षकले पिटेको छैन । यो हल्ला मात्र हो ।’
तर छात्राका दाजु इन्द्रले भने शिक्षक कै कुटाइबाट आफ्नो बहिनी बेहोस भएको र उनको टाउकोमा पहिला कुनै पनि चोट नलागेको दावी गरे । पढन गएका विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गर्नु नराम्रो भए पनि उपचारको सबै खर्च विद्यालयले व्यर्होने भएपछि आफूले कारवाहीको लागि कतै उजुरी नगर्ने पार्की परिवारले बताएको छ ।