☰ open Loading... 19 April 2024|  

बालुवाटारमै कांग्रेस-एमालेको भनाभन
  | १४ भाद्र २०७३, मंगलवार १७:५५

एमाले, कांग्रेस, माओवादी केन्द्रका नेताहरु मेटल डिटेक्टरद्वार हुँदै भित्र पसे । वेटिङ रुम र कन्ट्रोल रुम हुँदै नेताहरु नीलो बैठकको बाटो भएर क्याबिनेट हल प्रवेश गरे । प्रधानमन्त्री दाहालले त्यहाँ छलफलका लागि सबै तयारी गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली स्वास्थ्योपचारका लागि सिंगापुर र बैंकक गएका कारण दुवै दलका दोस्रो तहका नेताहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री दाहालले सुरुमै आफ्नो धारणा राखे । उनले संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, स्थानीय निकाय पुर्नसंरचना आयोगको काम तथा मधेस समस्या समाधानको विषयमा धाराणा राखे ।

दोस्रो वक्ताको रुपमा एमाले उपाध्यक्ष भीम रावलले विषय उठान गरे । उनले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्र, दुवै छिमेकी मुलुकमा विशेषदूत पठाएको विषय र मुख्य रुपमा नेपालको संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग भएको छलफलप्रति आपत्ति जनाए ।

उपाध्यक्ष रावलले प्रधानमन्त्रीका विशेष दूतका रुपमा दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल गरेको विषय उठाए ।

जवाफमा उपप्रधानमन्त्री निधिले आफूले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल नगरेको र सामान्य राजनीतिक कुराकानी भएको उल्लेख गरे। त्यसपछि एमाले उपाध्यक्ष रावलले दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति निकालेर वाचन गरेका थिए । जसको बुँदा नम्बर २ मा नेपालको संविधान संशोधनबारे भारतीय नेताहरुसँग छलफल भएको उल्लेख छ ।

रावलले दूतावासको विज्ञप्ति पढेर सुनाएपछि निधिले ‘त्यस्ता छलफल त कति गरियो गरियो, संविधान जारी गर्ने बेलामा कुन मुलुकले कति फन्डिङ गरे त्यो तपाइँकै ल्यापटमा होला हेर्नुस्’ भनेपछि स्थिति असहज बन्यो । त्यसपछि बैठकमा सहभागी एमाले नेताहरु निकै आक्रमक मुडमा देखिए । विशेषगरी रावल बढी आक्रमक देखिए ।

उनले कुन मुलुकले कति फन्डिङ गरेको हो सो देखाउन निधिलाई चुनौती दिए । निधिले सोको प्रमाण आफूसँग रहेको बताए । बैठक असमान्य दिशातर्फ अगाडि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले निधिको संविधान बनाउन धेरै मुलुकले सुझाव दिए पनि संविधान नेपाली आफैँले बनाएको भन्दै स्थिति साम्य पार्ने प्रयास गरे । प्रधानमन्त्री दाहालले निधिको भनाइ खण्डन गरेपछि एमाले नेताहरु केही शान्त भएका थिए।

‘संविधान संशोधनको विषय विदेशी फन्डिङसम्म पुगेपछि स्थिति धेरै गम्भीर भयो,’ बैठकमा सहभागी एक नेताले भने,‘प्रधानमन्त्रीले हस्तक्षेप नगरेको भए स्थिति अप्रिय हुनसक्थ्यो ।’

बैठकमा एमालेकातर्फबाट कार्यवहाक अध्यक्ष बामदेव गौतम, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, कांग्रेसकातर्फबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत पूर्णबहादुर खड्का अर्जुननरसिंह केसी सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष दाहाल नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापा सहभागी थिए ।

स्रोत नागरिकन्यूज