☰ open Loading... 26 July 2024|  

सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्दै
  | १५ भाद्र २०७३, बुधबार १४:१६

सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हुन सक्ने अग्निसम्बन्धी दुर्घटना कम गर्न ‘फायर स्टेशन’ निर्माण गर्न लागेको हो ।

त्यसका लागि प्रारम्भिक कार्य शुरू भएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । प्राधिकरणसँग लामो सयमदेखि सुर्खेतमा ‘फायर स्टेशन’ निर्माण गर्न माग गरिरहेको विमानस्थलका प्रमुख विनोदकुमार पन्तले बताए ।

fair

‘सुर्खेत विमानस्थल सञ्चालनमा आएको ५२ वर्षपछि पहिलोपटक जिल्लामै ‘पोर्टेबल टाइप अल्ट्रा हाई प्रेसर फायर भ्याकल’ आएको छ,’ उनले भने, ‘अब दमकल राख्नकै लागि पनि ‘फायर स्टेशन’ निर्माण अनिवार्य हुन्छ ।’

यसै आर्थिक वर्षदेखि नै ‘फायर स्टेशन’ निर्माण कार्य शुरू गरिने उनको दाबी छ । त्यसका लागि प्रारम्भिक प्रक्रियासमेत शुरू भएको उनले बताए । स्टेशन निर्माण हुनेबित्तिकै आधुनिक वारुण यन्त्रका लागि आवश्यक सामग्रीको भण्डारणसँगै दक्ष जनशक्ति परिचालन गरिने पन्त बताउँछन् ।

विमानस्थल क्षेत्रमा हुने अग्निसम्बन्धी प्रारम्भिक दुर्घटना कम गर्न ‘फायर स्टेशन’का वारुणयन्त्रले सहयोग पुग्ने उनको भनाइ छ । ‘जिल्लामै एउटा पनि वारुणयन्त्र नभएको अवस्थामा सुर्खेत विमानस्थलमा ‘अल्ट्रा हाई प्रेसर दमकल’ हुनु खुशीको कुरा हो,’ उनले भने, ‘अब विमानस्थल क्षेत्रभित्र कुनै पनि कारणवश अग्निसम्बन्धी दुर्घटना भएमा प्रारम्भिक रोकथाममा सहज हुनेछ ।’

अहिले विमानस्थलमा ल्याइएको आधुनिक दमकलसँगै दुईजना दक्ष अग्नि फायर फाइटरसमेत प्राधिकरणले नियुक्त गरेको छ । प्राधिकरणले विमानस्थलको स्तरोन्नतिअन्तर्गत मध्यपश्चिममा नेपालगञ्जपछि सुर्खेतमा पहिलोपटक अग्नि नियन्त्रक दमकल पठाएको हो । अष्ट्रियाबाट आयात गरिएको उक्त दमकलको मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

दमकलमा २ सय लिटर पानी अट्ने तथा २० लिटर फोम छ । कर्णाली तथा सुदूरपश्चिमका पहाडी जिल्लामा कार्गो ढुवानीका लागि व्यस्त रहने सुर्खेत विमानस्थलमा सम्भावित दुर्घटना हुन नदिन सुविधायुक्त दमकल ल्याइएको प्रमुख पन्तकोे भनाइ छ । सुर्खेत जिल्लामै यसअघि आगलागी नियन्त्रणका लागि दमकल उपलब्ध थिएन ।
आर्थिक अभियान दैनिकबाट