☰ open Loading... 22 October 2024|  

उपचार नगरेर सात बर्षदेखी बालक बन्धक
  | २२ भाद्र २०७३, बुधबार १७:२२

जाजरकोट भेरीमालिका नगरपालिका ५ गंगटियाका एक बालक उपचार नपाउँदा सात बर्ष देखी घरमै बन्दी अवस्थामा रहेको पाईएको छ । चरम गरीवीका कारण परिवारले उपचार गर्न नसक्दा मुकेश वि.क लाई घरमै बाँधेर राख्ने गरिएको हो । जथाभावी हिडिदिने र जे पायो त्यही खाईदिन थालेपछि उपचारको साटो विगत ७ बर्ष देखी घरमै बाँधेर राख्ने गरिएको उनका बुवा जरे लुहारले बताए ।

jkt
उनी न त बोल्न सक्छन् न त खान खान नै । १२ बर्षिय मुकेश मन लागेको बेला खोसेर खान्छन् तर दिएको बेला खाँदैनन् । उनले कहिले काँही माटो र आफ्नै दिसा समेत खाईदिन्छन । घरमा एक्लै भएको बेला जथाभावी रुपमा हिडिदिदा परिवारलाई निकै सताएका छन् । त्यसैले पनि उनलाई बन्दी जस्तै गरेर दाम्लोले घरमा वाँधेर राख्ने गरिएको परिवारले बताएका छन् ।

उनका बाबु लुहार भन्छन् दाउरा बेचेर परिवार पाल्दै आएको छु कसरी छोराको उपचार गरुँ । राम्रो अस्पतालमा देखाउन पाएको भए छोरा सञ्चो हुन्थ्यो कि भन्ने बाबु लुहारलाई नलागेको पनि होईन तर घरको आर्थिक अवस्था निकै कमजोर भएपछि कसरी उपचारको लागी लाने उनले भने छोराको चिन्ताले साह्रै सताएको छ । लुहारका दुई छोरा र एक छोरी छन् ।

छोरीको विवाह भैसक्यो जेठो छोरा गाँउकै विद्यालयमा १० कक्षामा पढ्छ । कान्छो भने अपाङ्ग जस्तै भयो । ति बालक शारीरिक रुपमा राम्रै रहेपनि मानसिक समस्याले गर्दा परिवारका अरु सदस्यलाई पनि टेन्सन बनाईदिएका छन् । घरमा कोही नभए बाँधेर बाहिर जान्छौ बाबु जरेले बताए । के गर्ने गरीवले उपचारै नपाएर मर्नु पर्दोरहेछ ।

साँझ विहानको छाक कसरी छार्ने भन्ने समस्याले पिरोलिरहेको बेला कान्छो छोराको सुविधा सम्पन्न अस्पतालमा लिएर उपचार गर्ने त सपना मात्र भयो हजुर उनले मलिन स्वरमा भने ।