☰ open Loading... 23 November 2024|  

बलात्कार र गर्भपतन आरोपमा बाबु–छोरा पक्राउ
  | २३ भाद्र २०७३, बिहीबार १०:३७

बालिका बलात्कार गरेर गर्भपतन गराएको आरोपमा सुर्खेतमा बाबु–छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षीया बालिका बलात्कार गर्ने छोरा र गर्भपतन गराउने बाबु पक्राउ परेका हुन् । पूर्वी सुर्खेतको सुभाघाट भेरीगंगा नगरपालिकाका १८ वर्षीय सुनिल मल्लले बैशाख १६ गते १४ वर्षीया बालिका बलात्कार गरेको प्रहरीको भनाई छ ।

बलात्कारपछि बालिकाको गर्भ रहेको थियो । त्यो थाहा पाएपछि पाँच महिनापछि भदौ १६ गते सुनिलका बुवा दानबहादुर मल्लले बालिकालाई वीरेन्द्रनगरमा ल्याएर गर्भपतन गराएका थिए ।

गर्भपतन गराएपछि मात्रै बालिकाले घटनाबारे बुवालाई भनेकी थिइन् । ‘जागिरको सिलसिलामा काठमाडौंमा रहेका बुवा–आमा घर आएपछि भदौ १८ गते बालिकाले आफूमाथि भएको घटना भनेकी रहिछिन्’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक जयसिंह विष्टले भने, ‘१९ गते बालिकाको तर्फबाट बुवाले दिएको ठाडो उजुरीका आधारमा पीडक सुनिललाई पक्राउ प¥यौं ।’

२० गते बालिकाका बुवाले जवर्जस्ती करणी र गर्भपतन मुद्धामा बुवा दानबहादुर र छोरा सुनिलविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा दानबहादुरलाई पनि प्रहरीले पक्राउ गरेको हो । छिन्चु प्रहरीले सोमबार जिल्ला अदालत सुर्खेतबाट पाँच दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।