☰ open Loading... 22 December 2024|  

गौरीफाण्टा नाका स्तरिय बनाउ दवाब जरुरी रहेको निष्कर्ष
  | २४ भाद्र २०७३, शुक्रबार १७:५२

गौरीफण्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सबैले निरन्तर दबाव दिन आवश्यक रहेको कैलाली उद्योग वाणिज्य संघको ठहर छ । नाका स्तरोन्नतिका लागि हालै काठमाण्डौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतलाई ज्ञापनपत्र बुझाएको संघले प्रधानमन्त्री तथा मन्त्रीहरु अत्यन्त सकारात्मक रहे पनि निरन्तर दबाव दिन जरुरी रहेको जनाएको हो ।

संघले गौरीफण्टा नाका अन्तर्राष्ट्रिय स्तरको भएमा मुलुकलाई ठूलो फाइदा हुने बताएको छ । अहिले बन्द जस्तै भइसकेको यो नाका छायाँमा पर्दै गएकाले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व सन्ध्यामा नाका स्तरोन्नतिको माग गर्दै ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बताए ।

उनले नाका स्तरोन्नति गर्ने सवालमा प्रधानमन्त्री सहित अन्यमन्त्री र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद, नेताहरु सकारात्मक रहे पनि भारत भ्रमणको प्रमुख एजेण्डा यहि नाकालाई बनाउनु पर्ने आफूहरुले माग गरेको बताए ।

सबैबाट सकारात्मक जवाफ आए पनि अझै झक्झक्याउन जरुरी रहेको अध्यक्ष बोगटीको भनाइ छ ।

‘यसपाली प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख एजेण्डा यो नाकाको स्तरोन्नति बाहेक अरु केहि हुनै सक्दैन’, उनले भने– ‘त्यसैले झक्झक्याउन जरुरी छ ।’

यो नाका जीर्ण हुँदै जाँदा ठूला सामानहरु अन्य नाकाबाट आयात गरिनु पर्ने बाध्यता रहेको छ । यसैगरी, गौरीफण्टा नाकामा नेपालतर्फ क्वारेन्टाइन चेकपोष्ट नहुँदा यहाँ उत्पादित कृषि उपज नेपालगञ्ज स्थित रुपैडिया नाकाबाट निर्यात गर्नु परेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको नाका नहुँदा व्यवसायीहरुले ढुवानी लागतमात्रै धेरै ब्यहोरिरहेको व्यवसायी मायाप्रकाश भट्टले बताए । उनले मुलुकको ठूला चार नाकाको जस्तै गौरीफण्टा नाकाको स्तरोन्नति गरिनु पर्नेमा नेपाल सरकारले लिखित फाइल समेत अहिलेसम्म भारत सरकारलाई नदिएको बताए ।

‘नेपाल सरकारले त माग मात्रै गर्नु पर्ने हो । बनाउने काम भारत सरकारको हो ।’, उनले भने–‘तर, अहिलेसम्म सरकारले लिखित रुपमा माग समेत गरेको छैन ।’

गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउनु पर्नेमा भारतका व्यापारी पनि सकारात्मक रहेको संघका अध्यक्ष बोगटीको भनाइ छ ।
राजनीतिक रुपमा सबै जना नाका स्तरोन्नतिका लागि सकारात्मक रहे पनि दबाव दिन जरुरी रहेको उद्योग वाणिज्य संघको ठहर छ ।

यो नाकाको स्तरोन्नति भएमा मुलुकलाई ठूलो फाइदा हुने बताइएको छ ।
‘मुलुक अप्ठयारोमा पर्दा सधैं सुदूरपश्चिमले सहयोग गरेको छ । गतवर्षको नाकाबन्दीको क्रममा सुदूरपश्चिमबाटै मुलुकलाई राहत भएको थियो’, व्यवसायी माया प्रकाश भट्टले अगाडि थपे–‘तर, यो नाकाले केहि पाएको छैन । राज्यले हेरेकै छैन । त्यसैले दबाव दिन आवश्यक छ ।’
रेडियो पश्चिमटुडे