☰ open Loading... 7 September 2024|  

२० वर्षपछि पुगे स्वास्थ्य केन्द्रमा डाक्टर
  | २५ भाद्र २०७३, शनिबार १९:३८

जिल्लाको बिकट क्षेत्र मानीने पुर्वी क्षेत्रको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाको भएको २० बर्ष पछि डाक्टर पुगेका छन् । वि.सं. २०५२ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि खाली रहेको मेडिकल अधिकृतको दरबन्दि पुरा भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट डक्टरले सेवा दिन थालेपछि स्थानीय निकै खुसी भएका छन् । अहिले मेडिकल अधिकृतको रुपमा डक्टर नविन चन्द्र भट्टले कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा दिईरहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा यस अघि नै मेडिकल अधिकृतको दरबन्दि भएपनि माघमा मात्र मेडिकल अधिकृतको रुपमा भट्ट त्यहाँ पुगेका थिए ।

यअघि डाक्टरको मुख देख्न नपाएका स्थानीय मेडिकल अधिकृतको दरबन्दि पुरा भएपछि एमबिबिएस डक्टरमार्फत उपचार सेवा पाउँदा हर्सित बनेका छन् ।

केन्द्रबाट एमबिबिएस डक्टरले उपचार सेवा दिन थालेपछि स्थानीयलाई नेपालगञ्ज, धनगढी र जिल्ला अस्पताल लगायत क्षेत्र उपचार गर्नु पर्ने बाध्यता टरेको छ ।

कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट नियमित एमबिबिएस डक्टरले उपचार सेवा दिन थालेपछि यहाँका स्थानीयलाई सहज भएको स्वास्थ्य कार्यालय अछामका जिल्ला स्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताए ।

उनका अनुसार कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट हाल एक सयदेखि दुई सय बिरामीहरु नियमित उपचारका लागि पुग्ने गरेका छन् । कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा डक्टरको दरबन्दि पुरा भएपछि त्यहाँबाट अत्यावश्यक उपचारका लागि जिल्ला अस्पताल आउने र अन्यत्र जाने बिरामीको संख्यामा कमि आएको अधिकृत अधिकारीको दावी छ ।

अहेवको भरमा चल्दै आएको प्राथमिक स्वास्थ्य केन्द्रबाट अहिले आफुहरुले एक्सरे, भिडियो एक्सरे, निबुलाईजर सेवा, पोष्टमार्टम लगायत विभिन्न खाले सेवा दिदै आएको मेडिकल अधिकृत डक्टर नविन चन्द्र भट्टले बताए ।

केन्द्रबाट नियमित सेवा दिन थालेपछि स्थानीय समेत खुसी भएको उल्लेख गर्दै डक्टर भट्टले अझै प्रभावकारी सेवा दिन कर्मचारी र सामाग्री अभाव रहेको जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा तोषी, धमाली, रानिवन, बिरपथ, कुईका, घोडासेन, तुर्माखाँद लगायत पूर्वी अछामको बिकट क्षेत्रका स्थानीयलाई सहज भएको छ । तर स्थानीयबासीले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विकास गर्नु पर्ने माग राखेका छन् ।

‘स्वास्थ्य केन्द्रको विकासका लागि सहयोग गर्न तयार छौं ।’ कमलबजार नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भिम खतिवडाले भने,–‘प्राथमिक स्वास्थ्य केन्द्रलाई यस क्षेत्रको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न आवश्यक छ ।’