☰ open Loading... 1 May 2024|  

वीरेन्द्रनगरमा अझै ४४ जना बाल श्रमिक
  | २८ भाद्र २०७३, मंगलवार ०८:०२

मध्यपश्चिम अथात् प्रदेश नं. ६ को प्रस्तावित राजधानी मुख्य शहर वीरेन्द्रनगरमा बाल श्रमिकको संख्या बृद्धि हुने क्रम जारी छ । पछिल्लो समय वीरेन्द्रनगरका विभिन्न होटेल तथा रेष्टुरेण्ट, ग्यारेज र यातायाताहरुमा ४४ जना बालबालिकाहरुमा बालश्रम गरिरहेको जिल्ला बाल कल्याण समितिका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले जानकारी दिएको युगआह्वान दैनिकले छापेको छ ।

यही ४४ जना मध्ये ६ जनाको १३ वर्ष मुनिका, २३ जना १४ देखी १६ वर्ष र १५ जना १७ देखी १८ वर्ष मुनिका बालबालिहरु वीरेन्द्रनगर उपत्यका यातायात, होटेल, रेष्टुरेन्ट र ग्यारेजमा काम गर्दै आएका उनले जानकारी दिए । वीरेन्द्रनगरमा संचालित ग्यारेज र बसमा काम गर्ने बालबालिकाको संख्याहरु धेरै रहेको उनले बताए ।

वीरेन्द्रनगरमा संचालितमा बसमा र ग्यारेजमा ३४ जना बालबालिकाहरुले नियमित श्रम गरिरहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यही मध्ये बसहरुमा काम गर्ने बालबालिकाहरु सबै भन्दा धेरै ठकिने गरेको बाल संरक्षण अधिकृत आचार्यले बताए ।

वीरेन्द्रनगर रहेको ४४ जना बाल श्रमिकहरु मध्ये ११ जना बालबालिकाहरुको बाल शोषण भएको उनले बताए । हाल ४४ जना बालबालिका मध्ये ७ जनाले भाँडा माझ्ने गरेका छन् ।

त्यस्तै ११ जनाले होटेलमा वेटर, ८ जनाले सरसरफाइको काम र १८ जना बालबालिकाले अन्य क्षेत्रमा काम गरिरहेको उनले बताए । वीरेन्द्रनगरमा हाल अभिभावक भएता पनि ३७ जना बालबालिकाहरु बालश्रम गर्ने स्थिती रहेको अधिकृत आचार्यले जानकारी दिए । ७ जना बालबालिका मात्र आमा बुबा नभएको भेटिएका छन् ।