☰ open Loading... 7 September 2024|  

सुपथ मूल्यका पसल सञ्चालन गर्न माग
  | २८ भाद्र २०७३, मंगलवार १९:४६

जिल्लाभरी सुपथ मूल्यमा पसल सञ्चालन गर्न राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले माग गरेको छ । मञ्चको मंगलबार वीरेन्द्रनगरमा बसेको बैठकले नजकिँदै गरेका चाडवाडलाई लक्षित गरी सर्वसाधारणका लागि सहुलियत मूल्य पसल सञ्चालन गर्न साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग माग गरेको हो ।

मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकको अध्यक्षतामा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग असोज १ गतेदेखि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गर्न माग गरेको छ ।

जिल्लामा बाढीपहिरो पीडितसँगै गत वर्षको खडेरीलगायतका विभिन्न दैविकप्रकोपबाट आक्रान्त जिल्लाबासीलाई सर्वसुलभ तरिकाले राहत पुग्ने गरी सहुलियत मूल्य पसल सञ्चालन गर्न माग गरिएको अध्यक्ष बयकले जानकारी दिए ।

उनले चाडवाडलाई लक्षित गरी एकीकृतरुपमा राज्य नियन्त्रित दुबै संस्थानले सदरमुकाममा मात्र सीमित नगरेर घुम्ती सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विगतका वर्षहरुमा साल्ट ट्रेडिङले सदरमुकाम केन्द्रीत सुपथमूल्य पसललाई अब गाउँमुखी बनाउनु पर्छ ।

‘विभिन्न बहानामा व्यापारीले चर्को मूल्य बृद्धि गर्दा उपभोक्तालाई बाँच्नै गाह्रो छ,’ अध्यक्ष बयकले भने, ‘उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनका लागि दवाव दिन्छौं ।’

उनले जिल्ला प्रशासनमार्फत साल्ट ट्रेडिङ तथा खाद्य संस्थानको केन्द्रीय कार्यालयलाई जिल्लाका विभिन्न स्थानमा घुम्ती सेवा मार्फत सुपथमूल्य पसल गर्न बुधबार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए । राज्यद्वारा नियन्त्रित ती दुबै संस्थानलाई जिल्लामा सहजरुपले विक्री वितरण गर्न सुर्खेतमा कुनै कठिनाई भए मञ्चले सहयोग गर्ने उनले बताए ।

सुपथ मूल्य पसलमा दाल, चामल, चिनी, नुन, तेल, गेडागुडी लगायतका, अतिआवश्यकीय वस्तुहरुको विक्रीमा गर्न मञ्चले माग गरेको छ । हरेक वर्षझैं यस वर्ष पनि सरकारले बजार अनुगमनलाई निरन्तरता दिएपनि त्यो प्रभावकारी नभएको मञ्चको ठहर छ ।

मञ्चका अध्यक्ष बयकले बजार अनुगमनलाई परिणाममुखी बनाईनु पर्ने तर्फ केन्द्रीत हुन संयुक्तबजार अनुगमन समितिसँग आग्रह गरे । चाडबाडको अवसरलाई मौका छोपेर व्यापारीले बजारमा कृत्रिम अभाव गरी सडेगलेका, म्याद नाघेका तथा अखाद्य वस्तुहरुको विक्री वितरण गर्ने भएकाले यसतर्फ अनुगमन समिति चनाखो हुनुपर्ने सुझाए ।