☰ open Loading... 17 July 2024|  

सुर्खेतमा पसलैपिच्छे फरक मूल्य, हुम्लामा महँगी बढ्यो
  | ३१ भाद्र २०७३, शुक्रबार ०७:०८

सुर्खेत वीरेन्द्रनगरका व्यवसायीले म्याद सकिएका कोकाकोला, फेन्टा, स्प्राइट, प्रmुटीलगायतका पेय पदार्थ बिक्री गरेको छन्। खुद्रा व्यापारीले मात्र नभई डिलरबाट नै म्याद सकिएका सामान बजारमा पठाउँदा अधिकांश पसलमा त्यस्ता पेय पदार्थ बिक्री हुने गरेको हो ।

नाम मात्रको बजार अनुगमन हुँदा व्यवसायीले म्याद सकिएका पेय पदार्थ, दैनिक उपभोग्य वस्तुको पसलपिच्छे मूल्य फरक लिने गरेको पाइएको हो । बजार अनुगमन समितिले अखाद्य पदार्थका साथै मिसावटदेखि म्याद गुज्रेकासम्म सामान बिक्री गर्ने क्रम नरोकिएको निष्कर्ष निकालेको छ ।

केही दिनअघि समितिले गरेको अनुगमनमा दुई चिसो पेय पदार्थका डिलरसहित सात पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा डिलर र पसलहरूबाट स्प्राइट ६७, फेन्टा ५७, कोकाकोला २ वटा र जुस २ प्याकेट नष्ट गरियो ।

म्याद गुज्रेका तर बेच्न राखिएका बिस्कुट, कुरमुरेलगायतका अखाद्य वस्तुहरू पनि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए।

उनले मूल्यसूची नराख्ने, म्याद गुज्रिएको पदार्थ बिक्री गर्नेलाई पहिलो पटक भएकाले सचेत मात्र गराइएको जनाए । ‘दसैंतिहार नजिकिँदै गर्दा उपभोक्ताहरूको हितलाई ध्यानमा राखी बजार अनुगमनलाई तीव्र पारिएको हो’ उनले भने, ‘उपभोक्ता सजग भएर खबरदारी नगर्दा अनुगमन पनि प्रभावकारी बन्न नसकेको हो ।’

उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष आकाशतारा बयकले अधिकांश पसल सञ्चालकले मूल्यसूची टाँसबिनै फरकफरक मूल्यमा दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गर्दा पनि सरोकारवाला निकाय मौन बसेको आरोप लगाए । ‘दैनिक उपभोग्य वस्तुको पसललैपिच्छे फरकफरक मूल्यले उपभोक्ताहरू ठगिनुपरेको छ,’ उनले भने, ‘झारा टार्ने प्रकारको अनुगमनले उपभोक्तालाई न्याय दिन सकेको छैन ।’

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले ठगी गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रावधान रहेको बताए । ‘उपभोक्ताले आफू ठगिएको प्रमाण जुटाउन मुस्किल पर्छ,’ उनले भने, ‘बिल, बयान, बकपत्र, साक्षी आदिजस्ता कारणले कानुनी प्रक्रिया झन्झटिलो छ । त्यसले गर्दा कालोबजारी तथा ठगी गर्नेले कानुनी सजाय पाउन नसकेका हुन् ।’

कालिकोटमा अनुगमन छैन

कालिकोटका व्यापारीले दाल, चामल, तेल, चिनी, तरकारी, मासुलगायतका दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य लिने गरेका छन् ।

नाकाबन्दीको बेला बढेको अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य आपूर्ति व्यवस्था सहज हुँदा पनि घटेको छैन । उपभोक्ता पसललैपिच्छे फरकफरक मूल्यको मारमा छन् ।

चामल, दाल, तेल, तरकारी र मासुमा कालिकोटका ग्रामीण भेकका बजारमा मूल्य समान हुनु सम्भव नभए पनि मान्म बजारमै पसलैपिच्छे फरकफरक मूल्यले उपभोक्ता ठगिएको उपभोक्ता अधिकारकर्मी रवीन्द्र शाहीले बताए । सदरमुकाम मान्ममा बेलाबेलामा स्थानीय प्रशासनले म्याद सकिएका वस्तुको अनुगमन गर्ने गरे पनि मूल्यमा एकरूपता ल्याउन सकेको छैन ।

उद्योग वाणिज्य संंघले गत वर्ष प्रत्येक पसलमा मूल्यसूची राख्न भने पनि अधिकांश पसलमा मूल्यसूची छैन । व्यापारीले अटेर गरेर मनपरी मूल्य लिने गरेको कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए ।

हामीले गत वर्ष नै सबै पसलमा मूल्यसूची दिएका हौं,’ शाहीले भने, ‘हामीले मूल्यसूची दिने हो, कार्यान्वयन गराउन सक्दैनौं उनले प्रशासनले प्रत्येक महिना बजार अनुगमन गरे पनि मूल्यमा एकरूपता कायम गर्न नसकेको बताए ।

व्यापारीले कसैले धनगढी, कसैले नेपालगन्ज त कसैले सुर्खेतबाट सामान खरिद गर्ने भएकाले मूल्य फरक पर्ने दाबी गरे । दसैंतिहारको मुखमा अत्यधिक बिक्री हुने फेन्सी कपडामा व्यापारीले बढी नाफा खाने गर्छन् ।

‘तयारी कपडाको परेको मूल्य कति हो ? हामीलाई पनि थाहा हुँदैन,’ वाणिज्य संघका अध्यक्ष शाहीले भने,’१० र १५ प्रतिशत मात्र नाफा खाएर बेच्नु भनेका छौं ।’ मूल्यसूची राख्दा मनपरी मूल्य लिन नमिल्ने भएकाले नराखिएको स्थानीय उपभोक्ता जय विश्वकर्माको गुनासो छ ।

खाद्य संस्थानको चामल गुणस्तरको नहुने र बजारमा मूल्यमा मनपरी हुने अवस्थाले उपभोक्ता ठगिनुपरेको विश्वकर्माले सुनाए। उनले मंगलबार २५ किलोको मान्म बजारका ५ ठाउँमा मूल्य बुझ्दा फरकफरक रहेको गुनासो गरे । एउटै चामलको १ हजार ५ सयदेखि १ हजार ९ सयसम्म मूल्य लिँदा रैुछन्। दालको मूल्यमा पनि एकरूपता छैन । पसलैपिच्छे फरकफरक मूल्य छ ।

उनले कालिकोटमै उत्पादन हुने तरकारीमा पनि बिचौलियाले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्ताबाट महँगो मूल्य लिने गरेका छन् । ‘उत्पादकले पनि मूल्य पाएका छैनन्,’ जिल्ला कृषि विकास कार्यालयका कलबहादुर शाहीले भने, ‘उपभोक्ताले पनि सस्तो पाएका छैनन्, नाफा खाने साना पसले छन् ।’ उनले किसानबाट ताडी, नावगैरा, जिरोपोइन्ट पुगेर बजार आउने तरकारी बिचौलियाले सस्तोमा खरिद गरेर महँगोमा बेच्ने गरेको बताए ।

दसैंतिहार नजिकिँदै जाँदा स्थानीय प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। ‘बजार अनुगमन त गर्नुपर्ने हो,’ प्रजिअ कृष्णबहादुर खड्काले भने, ‘६ जना कर्मचारी तालिममा छन्, जनशक्ति छैन, नभए पनि बजार अनुगमनमा प्रशासनको दायित्व भएकाले सुरु गछौं ।’

बजार अनुगमनको संयोजक रहने सहायक प्रजिअ जिल्लामा छैनन् । केही समयअघि मान्म बजार अनुगमन गर्दा स्थानीय प्रशासनले करिब ९ लाख बढीको म्याद सकिएको सामान जफत गरेर नष्ट गरेको थियो ।

वर्षामा कर्णाली राजमार्ग अवरुद्ध हुँदा कतिपय सामान गाडीमै भिजेर नष्ट हुने, कतिपयको म्याद सकिएर पुग्ने गरेको कालिकोट र जुम्लाको सिमानामा पर्ने नाग्म बजारका व्यापारी शंकर बीसीले बताए ।

हुम्लामा अत्यधिक महँगी

सडक सञ्जालले नछोएकाले मुलुकमै सबैभन्दा महँगो भाउमा उपभोग्य सामग्री खरिद गर्न बाध्य छन्, हुम्लाका बासिन्दा । गोलभेडा र प्याज २ सय रुपैयाँ प्रतिकिलो उपभोग गर्दै आएका छन् । हुम्लामै उत्पादन हुने सिमी २ सय र आलु १ सय ८० रुपैयाँ पर्छ ।

स्थानीय उत्पादन न्यून हुने र भएको उत्पादनले माग पूरा नहुने भएकाले प्रायः उपभोग्य वस्तु हवाई मार्गबाटै ढुवानी हुने गरेकाले महँगो भएको हो । नाकाबन्दीको बेला बढेको मूल्य घट्नुको सट्टा झनै अकासिँदै गएको छ । हवाई ढुवानीबाट आपूर्ति हुने दैनिक उपभोग्य वस्तुको मूल्य बढेसँगै स्थानीय उत्पादनको मूल्यसमेत बढेको छ ।

पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको स्थानीय टाक्पाजिक्मेत लामा बताए। लामाका अनुसार हवाई ढुवानी भएर सहरबाट आउने वस्तुमा गोलभेडा, प्याजदेखि भान्टा र काउलीको मूल्यसमेत बढेको छ ।

चिनी प्रतिकिलो २ सय ५० र धारातेल प्रतिलिटर ३ सय, हुलास बास्मती चामल प्रतिकिलो ३ सय रहेको छ । स्थानीय उत्पादन रातो चामल प्रतिकिलो २ सय ५० पुगेको छ । दाल प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । उवा १ सय ८० रुपैयाँभन्दा बढी छ । मूल्य महँगो भए पनि हवाई ढुवानीका कारण आपूर्ति भने सहज छ ।

लामो समय जहाज नचलेको समयमा बाहेक प्रायः सबै सिजनमा आवश्यक उपभोग्य वस्तुको उपलब्धता हुने गरेको छ । प्याकेटको दूध, दहीदेखि माछा र ब्रोइलर मासु हुम्लामै उपलब्ध छन् ।

जिल्लाको दक्षिणी भेग मैला, मदाना, श्रीनगर, कालिका, जैरलगायतका १४ गाविसमा खाद्यान्न अभावसँगै मूल्य अकासिएको छ । स्थानीयले मुगु र बाजुरा पुगेर चर्को मूल्यमा ढुवानी गर्नुपर्ने भएकाले मूल्य अकासिएको हो । स्थानीयले मोटा चामल प्रतिकिलो १ सय ५० रुपैयाँमा खरिद गर्ने गरेका छन् ।

उत्पादन न्यून हुने र सडक यातायातले नछोएकाले हवाई ढुवानीबाहेक आपूर्तिको अर्को विकल्प छैन । जिल्लामा लामो समयदेखि सरकारी निकायबाट अनुगमन भएको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी जयप्रसाद कुमाईंले बजार अनुमन नभएको बताए ।

स्रोत कान्तिपुर