☰ open Loading... 26 April 2024|  

तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी
  | ३१ भाद्र २०७३, शुक्रबार १८:४२

चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका शिक्षण अस्पतालका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ ।

rolpa

डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका हुन् । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।

अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए । “बिहानैदेखि बिरामी लाइनमा लागेका थिए”, स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भने, “ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।”

डा। केसीले शिविरको पहिलो दिनमै करिब सय बिरामीको उपचार गरेका थिए भने दोस्रो दिन २ सय ३० भन्दा बढी बिरामीको उपचार गरेका थिए ।

डा केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्याधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो ।

स्रोत : स्वास्थ्य खवर