☰ open Loading... 23 October 2024|  

सुदूरपश्चिममा हुने अपराधिक गतिविधि रोक्न कटिवद्ध छु : डिआईजी श्रेष्ठ
  | १ आश्विन २०७३, शनिबार १८:०८

‘दशैँ तिहार लक्षित विशेष सुरक्षा योजना’

दशैँ, तिहार र छठ नेपालीका तीन ठुला चाड हुन् । यी चाड मनाउन अधिकाँश नेपालीहरु भारतबाट घर फर्किनछन् । सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका हिमाल, पहाड र तराईका जिल्लाका नेपालीहरु रोजगारीका लागि भारत जाने गर्छन् ।

तर दशैँ, तिहार नजिकीदैँ गर्दा नेपालीहरु नेपाल–भारत सीमामा पर्ने मुख्य नाका कञ्चनपुरको गड्डाचौकीबाट भित्रने गर्दछन् । दुःखले कमाएको रकम लिएर चाडपर्वमा घर फर्कने नेपालीहरु सीमामै लुटिने गरेका छन् ।

यी घटनाहरु रोक्न र थप सुरक्षा रणनीति बारे शुक्रबार मात्रै सुदूरपश्चिमाञ्चल क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय (वैद्यनाथ) बाहिनीमा सुरक्षा समितिको बैठक पनि सम्पन्न भएको छ ।

समग्र सुदूरपश्चिमाञ्चलको सुरक्षा र सीमामा नेपालीहरु लुटिने घटनाहरु कम गर्न सशस्त्र प्रहरी वलको नयाँ रणनीति के छन भनेर सुदूरपश्चिम (वैद्यनाथ) बाहिनीका अत्तरियाका डिआईजी राजेश श्रेष्ठसंग पश्चिम नेपाल सम्वाददाता सुशील खड्काले गरेको कुराकानीका सम्पादित अंश :–

dig-shrestha
शुक्रबार मात्रै सुरक्षा समितिको बैठक सम्पन्न भएको छ, कुन कुन विषयमा छलफल भयो ?

मुख्यगरी तीन ठुला चाड भित्रदै गरेकाले सशस्त्र प्रहरीले कसरी सुरक्षा दिँदा नागरिकहरु लुटिन पाउँदैनन् र अप्रिय घटनारहित चाडपर्व मनाउने विषयमा छलफल केन्द्रीत थियो ।

सीमामा नेपालीहरु लुटिन थालेका खवरहरु आउन थालेपछि यस्ता घटनाहरु हुन नदिन र भारतीय सुरक्षा बलसंग समन्वय गरेर कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा पनि सुदूरपश्चिममा रहेका सशस्त्र प्रहरीहरुको सुरक्षा बैठक भएको थियो । अतः समग्रमा हालसम्मका गतिविधि र आगामी दिनमा थप कसरी प्रभावकारी सुरक्षा दिने भन्ने कुरामा छलफल भएको हो ।

सुदूरपश्चिमको सुरक्षामा सशस्त्र प्रहरीले कसरी काम गर्दै आएको छ ?

खुला सीमाना र नेपालतर्फको सीमामा प्रयाप्त चेक पोष्ठ नहुँदा सवै क्षेत्रका नागरिकलाई सुरक्षा दिन सकेका छैनौं । तर भएको स्थान र कम स्रोत साधनबाट नै प्रभावकारी सेवा दिनमा चुकेका पनि छैनौं ।

कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगरमा दुईवटा मात्र सुरक्षा पोष्ठ छन् । अझै हामीले पोष्ठ संगै अन्य गस्तीलाई पनि प्रभावकारी बनाएकै छौं ।

नेपालतर्फको सीमामा कम्तीमा अलि धेरै सुरक्षा पोष्ठ भएको भए राम्रो हुन्थ्यो र सुरक्षा दिनमा सहजता पनि हुन्थ्यो । सुदूरपश्चिमका ९ जिल्लामध्य बझाङ, डोटी, बैतडी र बाजुरा बाहेक अन्य जिल्लामा सशस्त्र प्रहरी पोष्ठ स्थापना भएका छन् र नागरिकलाई सुरक्षा दिनमा कुनै कसर बाँकी राखेका छैनौं ।

सुदूरपश्चिमका सुरक्षा चुनौतीहरु के के हुन् ?

सीमानामा नेपाली लुटिने, लागु पदार्थको कारोबार, सडक दुर्घटना र अन्य अपराधिक गतिविधिहरु नै मुख्य घटनाहरु हुन । यस्ता घटनाहरु रोक्न सुदूरपश्चिममा एकृकित सुरक्षा अवधारणा लागु भएको छ ।

सशस्त्र प्रहरीले स्थानीय प्रशासन, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बलसंग समन्वय गरेर यस्ता घटनाहरु रोक्नमा हामी तल्लिन छौं । तर सशस्त्र प्रहरीसंग दक्ष जनशक्ति प्रयाप्त भएपनि अप्रयाप्त सवारी साधनहुँदा कहीले काही भनेकै समयमा पुग्न सकेका छनौं ।

यद्यपी भएकै स्रोत साधनको उचित प्रयोग गरेर राजमार्गको सुरक्षा, सीमामा हुने अपराधिक गतिविधि रोक्नमा सफल भएका छौं । अझै नेपालतर्फका सीमामा कम्तीमा अलि धेरै सुरक्षा पोष्ठ भएको भए यस्ता गतिविधिहरु रोक्नमा सहज हुने थियो ।

भारतीय सुरक्षा बल हतियारसहित नेपालीको घरमा पसेर दुःख दिने जस्ता कार्यहरु गर्दै आएको छ, यसलाई रोक्न तपाईहरुले कस्तो रणनीति अपनाउनु भएको छ ?

विभिन्न बाहनामा भारतीय सुरक्षा वलले नेपालीलाई दुःख दिने गरेपनि हामीले दुवै देशका सुरक्षा प्रमुखहरुसंग बसेर समस्या समाधान गर्दै आएका छौं । हामी चुप लागेर बसेका छैनौं ।

यस्ता घटनाहरु हुन नदिन पनि हामी लागेकै छौं । कहीले काँही हुने यस्ता घटनाका बारेमा दुवै देशका सुरक्षा अधिकारीहरु बसेर नै समाधान गर्दै आएका छौं । नेपाल भारतको सीमानामा भारती सुरक्षा बलका झण्डै ५८ वटा सुरक्षा पोष्ठ छन् । हाम्रोतर्फ कम छन् । त्यसैले यस्ता घटनाहरु रोक्न अझै नेपालतर्फको सीमानामा पोष्ठहरु बढाउनु पर्छ ।

सुदूरपश्चिमको सुरक्षालाई थप प्रभावकारी बनाउन के भैदिएको भए राम्रो हुन्थ्यो ?

पहाडी जिल्लाको मुख्य नाका अत्तरिया हो । पहाडमा अपराधिक गतिविधि गरेर भाग्ने मुख्य नाका नै यसैलाई मान्नु पर्छ । कम्तीमा मुख्य शहरहरुमा सीसी क्यामरा जडान भएको भए अपराध गरेर भाग्ने व्यक्तिलाई तत्काल पक्राउ गर्न सहज हुन्थ्यो । यस्तै सीमा क्षेत्रको नेपाली भुभागमा कालोपत्रे सडक भएमा तत्काल सुरक्षाकर्मी पठाउन सहज हुन्थ्यो ।

सीसी क्यामरा जडान गर्नमा यस क्षेत्रका सरोकारवालासंग छलफल गर्दै आएका छौं । सीमातर्फका सडकहरु प्रभावकारी भएमा सीमामा हुने अपराधिक गतिविधिहरु रोक्न पनि सजिलो हुन्थ्यो ।

सयम अनुकुल सुरक्षामा आवश्यक पर्ने प्रविधिहरु भित्रिन सकेको भए यहाँ हुने जुनसुकै अपराधहरु पनि रोक्नमा सहज हुन्थ्यो । भौगोलिक विकटताले सवै क्षेत्रमा हाम्रो पहुँच नहुँदा पनि नागरिकहरुले प्रहरीले केही गरेन भन्दै आएका छन् । कम्तीमा सवै क्षेत्रमा हाम्रो पोष्ठहरु विस्तार गरेको भए यस्ता सुरक्षामा थप प्रभावकारीता हुन्थ्यो । यस विषयमा मैले कुरा पनि उठाउँदै आएको छु ।

अन्त्यमा, के भन्न चाहानु हुन्छ ?

हामीले यस क्षेत्रका नागरिकहरुको सुरक्षामा प्रभावकारी रुपमै काम गरेका छौं । नियमित चेकजाँचमा पनि विषेश निगरानी बढाएका छौं । चाड पर्व लक्षित विशेष सुरक्षा रणनीतिलाई पनि प्राथमिकतामा राखेका छौं । राजमार्गमा हुने अपराधिक क्रियाकलाप रोक्नमा पनि कुनै कसर बाँकी राखेका छैनौं ।

प्रहरी एक्लैले मात्र यस क्षेत्रमा हुने अपराधिक गतिविधि, सीमा अपराध लगायत घटनाहरु कम गर्न सक्दैन । त्यसैले नागरिकहरुको पनि साथ र सयोग आवश्यक छ । कुनै पनि घटना हुनु राम्रो पक्ष हैन् । यदी भएमा तत्कालै हामीलाई खवर गर्नुहोस् । चाड पर्व नजिकिदै छन् । आफ्नो क्षमता अनुसार पर्व मनाउनुहोस् भन्न चाहान्छु ।