☰ open Loading... 19 April 2024|  

सुर्खेतमा के भने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले (भिडियोसहित)
  | ४ आश्विन २०७३, मंगलवार १८:५०

सरकारले आगामी चैत्र महिना भित्र स्थानीय तहको निर्वाचन जसरी गर्ने उद्घोष यसअघि नै गरेको छ । तर निर्वाचन मिति घोषणा हालसम्म पनि गर्न सकेको छैन् । मिति मात्र नभएर निर्वाचन गर्न केही कानुन निर्माण गर्नु पर्ने हुन्छ । ति कानुन पनि हालसम्म निर्माण गरिएको छैन् र यसतर्फ सरकार तथा राजनीतिक दलहरुले साझा धारणा बनाउन सकेका छैनन् । यही अवस्थामा २०७४ सालको माघसम्म तीन तहका निर्वाचन गर्न सम्भव छ त ? जिल्ला निर्वाचन कार्यालय दैलेखको कार्यालय उद्घाटन गर्न जाने क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसंग सुर्खेतमा पश्चिमनेपाल डटकमका सह–सम्पादक सुशील खड्काले गरेको विशेष कुराकानीका सम्पादित अंश ः–

संविधान जारी भएको एक वर्ष भयो । यो सम्वन्धी कानुनहरु बनेका छ्रैनन्, तपाईको बुझाईमा संविधान कार्यान्वयनमा कस्तो प्रभाव पार्ला ?

तपाईले बढो गम्भीर प्रश्न सोध्नु भयो । तर हाम्रो काम निर्वाचन गराउने मुख्य भूमिका हो । यद्यपी सक्षेपमा भन्छु, गत असोजमा जारी भएको संविधान कार्यान्वयमा जोड दिनुपर्छ उतिबेला नै भनेका हौं । कार्यान्वनको रफ्तार नी बढाउनु पर्छ भनाई हो । यसमा यति नै भनौं ।

आगामी चैत्रमा स्थानीय तहको चुनाव गर्ने घोषणा सरकारले गरेको छ । यदि यही परिस्थितीमा चुनाव गर्न सम्भव छ ?
यो कुरो निर्वाचन आयोगलाई नसोध्नुहोस् । चुनाव गर्नमा शत प्रतिशत हामी तयारी अवस्थामा छौं । स्वतन्त्र र निष्पक्ष रुपमा हामीले निर्वाचन गर्दै आएका छौं ।

स्थानीय तहको निर्वाचन गर्नमा सरकारले नीति घोषणा गरेको छैन् । यद्यपी हामी सरकारले मिति घोषणा गर्यो भने निर्वाचन सम्पन्न गर्न तयार छौं । सरकारले निर्वाचन आयोगसंग परामर्श गरेर मिति तोक्ने कुरो मिडियामा आएको छ ।

yadhab

चैत्रको निर्वाचनको लागि मिति तोक्नु पर्यो । मिति आएर मात्र हुँदैन, नीति पनि आउनु पर्छ । मिति मिति भन्ने कुरो त बारम्बार आइरहेको छ । नीतिको कुरो आएको छैन् । हामीले केही कानुन तयार गरेर अगाडी बढ्नु पर्छ भन्दै सरकारलाई ६ वटा ऐन सम्वन्धी लेखेर पठाएका छौं । स्थानीय तह, निर्वाचन आयोग ऐन, राजनीतिक दलसम्वन्धी ऐन लगायत ६ ऐन लेखेरै पठाएका छौं । अहिलेसम्म यसबारे केही पनि लिखित रुपमा आएको छैन् ।

तीन तहका निवार्चन सम्पन्न गर्नु छ, यदि सरकारले कानुन निर्माण गरेर मिति घोषणा भएमा तोकिएकै समयमा निर्वाचन गर्न तपाईहरु सक्नुहुन्छ ?

हामी चुनाव गर्न सक्षम छौं । तर उपयुक्त समयमा त चाहियो नी । हतार हतारमा गएर निर्वाचन गर्न भने हामी सक्दैनौं । दुनियाको जुनसुकै समयमा पनि सकिदैन् । कम्तिमा १२० दिनको उपयुक्त समय आउनु पर्छ भन्दै हामीले कुरो उठान गर्दै आएका छौं ।

निर्वाचनका लागि अति आवश्यक विषय के हो भने स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आउनु पर्छ । हामीसंगको छलफलमा आयोगका अध्यक्षले असोज भित्र दिन्छौं भन्नु भएको छ । त्यो प्रतिवेलन प्राप्त हुनु पर्यो र कार्यान्वन हुनु पर्यो । गाउँपालिका नामाकंन हुनु पर्यो । वडा विभाजन हुनु पर्छ । यसमा विवाद हुनु हुँदैन् । जसले हामीलाई काम गर्नमा सहज हुन्छ ।

२०७४ साल माघसम्म तीन तहका निर्वाचन गरिसक्नु पर्ने प्रावधान संविधानमा छ । यदी त्यो बेलासम्म निर्वाचन हुन सकेन भने के हुन्छ ?

के हुन्छ के हुन्न भन्ने निर्वाचन आयोगले भन्ने हैन् । हामी सकरात्मक सोच्छौं । त्यो समयसम्म निर्वाचन सम्पन्न हुन्छन । संविधानमा उल्लेख गरेअनुरुप सरकारले मिति दिएमा हामी तयारी अवस्थामा छौं ।

हामीले स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनीधि सभाको निर्वाचन सम्पन्न गर्न हामी तयारै छौं । ऐतिहासिक उपलव्धी जनातको हो । यसलाई कार्यान्वन गर्नुपर्छ । सरकारले समयमै निर्वाचन गर भनेर हामीलाई मिति दियो भने हामी गछौं ।

संविधान संशोधनमा दलविच विमति छ । तपाई मधेसी समुदायको हुनुहुन्छ र प्रमुख निर्वाचन आयुक्तमा पनि पुग्नु भएको छ । साच्चै नयाँ संधिवानले मधेसी मोर्चा, सीमान्तकृत समुदाय लगायतको हक अधिकार सुनिश्चित नगरेकै हो त ?

यो त राजनीतिक विषय हो मैले बोल्न नहुने हो । तर पनि अहिलेको संविधान मेरो विश्लेषणमा ज्यादै प्रगतिशील र ज्यादै लोकतान्त्रिक छ । समानुपातिक र समावेशीको एउटा ठुलै उपलव्धी नेपाली जनताले प्राप्त गरेको छ । जापानमा सन् १९४५ मा युएसएका विद्धवानहरुले एउटा संविधान बनाएर दिए जुन अहिलेसम्म संशोधन भएको छैन् । आर्थिक क्षेत्रमा ठुलै फड्को मारेको छ ।

सवै जातजानी, धर्म, पेशाकर्मी लगायतको सवैको हक अधिकार सुनिश्चित गरिएको छ । मधेशी मात्र हैन सवै जातजातीले हक हितका कुरा उठान गरेर अगाडी बढिरहेको छन् । सवैको माग विस्तारै पूरा हुँदै जान्छ ।

अन्त्यमा, प्रदेश नम्बर ६ को स्थलगत भम्रणमा आउनुको उदेश्य के हो ?

सुर्खेत दैलेख लगायत जिल्लाको भम्रण मेरो दोस्रो पटक हो । आयोगको दैलेख कार्यालयको उद्घाटन गर्न त्यसतर्फ जाँदैछु । साधै मतदाताको संख्या र कार्यालय निरिक्षण गर्न पनि आएको हुँ । सवैको सुझाव र सल्लाह लिन पनि यहाँ आएको हुँ । मेरा केही शव्द राख्ने मौका दिनु भएकोमा अनलाइन पत्रिका पश्चिम नेपाल डटकमलाई विशेष धन्यवाद दिनुचाहान्छु ।