☰ open Loading... 23 October 2024|  

विवरण पेश नगर्दा रेविज भ्याक्सिन आएन
  | ६ आश्विन २०७३, बिहीबार १२:१८

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालयमा एउटा पनि रेबिजविरुद्ध लगाउने भ्याक्सिन नहुँदा बिरामी मर्कामा परेको खोपका फोकल व्यक्ति रामपुकार शाहले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आवश्यक विद्युत्को अभावमा भ्याक्सिन सदरमुकाममा राख्ने गरिएका कारण सबै बिरामी सदरमुकाममा आउने गर्दछन् । त्यहाँ नै खोप नहुँदा दैनिक रित्तो हात फर्कने गरेको पाइएको छ। सक्ला–१ लैखमका धनबहादुर खत्रीलाई बहुलाएको कुकुरले टोकेपछि एक दिन हिँडेर सदरमुकाम आएपनि भ्याक्सिन नहुँदा रुकुमको चौरजहारीमा गएको बताए ।

एक स्वास्थ्यकर्मीका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले कहिले प्रगति विवरण पठाउने हो अनि कहिले भ्याक्सिन आउने हो अन्यौल भएको छ । औषधिको स्टोर सम्हाल्दै आएका लमबहादुर खड्काले समेत प्रगति विवरण नपठाएका कारण समस्या भएको बताए ।

यसभन्दा एक महिनाअघि सर्पदंशको औषधि लुकाएर बिरामी रुकुमको चौरजहारी अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयले नै रिफर गरेको थियो । यसको समाचार प्रकाशन भएपछि चौरजहारी अस्पताललाई जाजरकोट स्वास्थ्य कार्यालयले नै सर्पदंशको औषधि दिन बाध्य भएको थियो ।

स्रोत : सेतोपाटी