☰ open Loading... 23 October 2024|  

कता हराए सडकका ट्राफिक संकेत ?
  | ६ आश्विन २०७३, बिहीबार १२:२८

बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश सडकहरुमा ट्राफिक चिन्ह हराउँदै जाँदा चालकलाई समस्या हुने गरेको छ । अधिकांश ठाउँमा ट्राफिक चिन्ह हराउँदै जानाले सवारी चलाउँदा दुर्घटनाका जोखिम बढी हुने गरेको चालकहरुको भनाइ रहेको छ ।

बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली लगायतका जिल्लामा रहेका राजमार्गमा ट्राफिक चिन्ह हराउँदै जाँदा पनि सम्बन्धित निकायको ख्याल पुगेको देखिन्न ।

tarafic-singnal
महाकाली राजमार्गसहित , दशरथ चन्द राजमार्ग, भिमदत्त राजमार्ग, के आई सिंह राजमार्ग र जयपृथ्वी राजमार्गमा ट्राफिक चिन्ह जिर्ण बन्दै गएकाले सवारीसाधन सञ्चालनमा कठिनाइका साथै दुर्घटनाका जोखिम बढेको बताइन्छ ।

स्थानिय रुटहरुमा सवारी साधन चलाउनेहरुलाई स्थानिय सडकको बारेमा थाहा हुने भएपनि लामो दुरीका गाडी चालकहरुलई भने निकै नै समस्या हुने गरेको ना ४ ख २००८ ट्रक चालक देवानन्द महराले बताए ।

ट्राफिक चिन्हले अगाडि आउने बाटोबारे अग्र जानकारी दिने भएकाले गाडी सञ्चालनमा सहजता हुने भएपनि ट्राफिक चिन्ह नै नहुँदा समस्या हुने गरेको चालक महराकोे भनाइ रहेको छ ।

दाङबाट सिमेन्ट लिएर दार्चुला जाँदै गरेका चालक महराले भने, “मैले कैलालीको गोदावरीबाट बैतडी पुग्दा सम्म राजमार्गमा कही कतै मात्र ट्राफिक चिन्ह देखे, सबै ठाँउमा छैन ।

कैलालीको गोदावरीदेखि डडेल्धुरा (भिमदत्त राजमार्ग)मा केही सजिलो भए पनि बैतडी-दार्चुलाको सडकमा एकदमै गाह्रो हुने गरेको छ ।”

छोटो दुरीमा चालकलाई सडकबारे ज्ञान हुने भए पनि लामो दुरीमा त्यो सम्भव नहुदा अधिकांसश सवारी दुर्घटनाहरु हुने गरेका छन् । केही मात्रामा ट्राफिक चिन्हहरु राजमार्गमा भए पनि तिनीहरु जिर्ण भई सकेको तथा टुट फुटको अवस्थामा रहेका छन् ।

यस्तै सडक वरीपरीका झ्याङले समेत सवारी चलाउन गाह्रो भएको चालक महराले बताए । घुम्तीमा रहेका झ्याङ तथा वरपरबाट आएका रुखका हाँगाबिगाले झनै समस्या हुने गरेको छ ।

सुदूरपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका ईन्चार्ज तथा प्रहरी उपरिक्षक रमेश थापाले सुदूरपश्चिमका पहाडी सडकमा अधिकांश ठाउँमा ट्राफिक चिन्ह नभएको र भएको ठाँउमा पनि जीर्ण अवस्थामा रहेको स्वीकार गरे ।

“सुदूरपश्चिमका अधिकांस ठाँउमा ट्राफिक चिन्हहरु छैनन् भएका ठाँउमा पनि जीर्ण अवस्थामा रहेका छन्,” उनले  भने, “ट्राफिक चिन्ह जीर्ण तथा नभएको ठाँउमा ट्राफिक चिन्ह राख्न सडक कार्यालयसँग अनुरोध गरिनेछ ।”

सुदुरपश्चिमका विभिन्न स्थानमा आर्थिक वर्ष २०७२ र ०७३ मा १ सय ५५ वटा सवारी दुर्घटनामा परी १ सय २१ जनाको मृत्यू भएको छ भने १ सय २७ जना गम्भिर घाईते भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

स्रोत सिधारेखा