☰ open Loading... 8 February 2025|  

सहमतिपछि खुल्यो बन्द यातायात
  | ६ आश्विन २०७३, बिहीबार १२:३९

नियमविपरीत बस सञ्चालन गरेको भन्दै कृष्णसार यातायात समितिले आह्वान गरेको अनिश्चिकालीन बस सेवा बन्द बिहीबारबाट फिर्ता लिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले बन्दका सबै कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए ।

भेरी यातायात प्रालिले जिल्लामा सञ्चालन गरेका रुटपरमीट लगायत कागजात नियमसम्मत छन् कि छैनन् छानबिन हुनुपर्ने, कृष्णसार यातायात समितिका अध्यक्ष शम्भु रिजालले भेरी प्रालिका बस तोडफोड गरेको आरोपमा लगाइएको मुद्दा फिर्ता हुनु पर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

भेरी प्रालिका बस नियम सम्मत छ कि छैन यसबारे कम्पनी रजिष्टार कार्यालयमा जानकारी लिने प्रजिअ थापाले भने—‘अध्यक्ष रिजालका मुद्दाका सम्बन्ध बोल्न मिल्दैन ।’

बैठकमा सांसद सञ्जयकुमार गौतम, एमाले जिल्ला कमिटीका अध्यक्ष हरि ज्ञवाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक शर्मा, प्रहरी प्रमुख लगायतको उपस्थिति थियो ।

कृष्णसार यातायात समितिका अध्यक्ष रिजालविरुद्ध भेरी प्रालिका चार वटा बसमाथि तोडफोड गरिएको भन्दै किटानी जाहेरी दिएको छ । प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको अध्यक्ष रिजालले बताए ।