☰ open Loading... 20 April 2024|  

‘स्वदेशमा नै फल्छ सुन, फर्क प्रदेशी’
  | ६ आश्विन २०७३, बिहीबार १८:४६

स्वदेशमा नै बस्न त सबैलाई रहर हुन्छ । तर पनि गतिलो जागिर नपाउनु तथा कुनै पेशा ब्यबसाय नहुदाँ विदेशीनेको संख्या बढ्दो क्रममा छ ।

तर सल्यानका एक किसान स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन् । सल्यान शारदा नगरपालिका ४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी स्वस्थ तरकारी र फलफुल उत्पादन गर्न सफल भएका छन् ।

यही व्यवसायबाटै सबै खर्च कटाएर वार्षिक २५ लाख भन्दा बढि आम्दानी गर्दै आएको वली बताउँछन् । २०५२ सालमा प्रविणता प्रमाणपत्र तह उर्तीण गरेका वलीले ४ वर्षसम्म रोजगारीका लागि भारत लागेका थिए ।

पछि उनी भारतबाट फर्केर कृषि जन्य वस्तुहरु खरि विक्रिसंगै आफ्नै घर नजिकको पाखो जमिनमा तरकारी तथा फलफुल खेती गरेका थिए । परिश्रमसंगै कृषि कर्मले सफलता हात पारेको उनी बताउँछन् ।

oli

वलीले विदेशीने युवाहरुलाई सुझाव दिदै भन्छन,–‘स्वदेशमै यति ठूलो सम्भावना हुँदाहुँदै किन विदेश जाने ?” जिल्लाका केही संघ संस्था तथा जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा व्यक्तिगत लगानीमा हाल उनले ३० रोपनी पाखो जमिनमा विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय प्रजातीका विरुवा, फलफुल, जडिबुटी र तरकारी उत्पादन गर्दै आएका छन् ।

प्रत्यक्ष रुपमा चार जनालाई रोजगारी समेत दिएको बताएका वलीले काम गरे असम्भव केही नभएको बताउँछन् । मेहनत गरे स्वदेशमा नै सुन फल्ने उनीको भनाई छ । पानीको अन्य कुनै स्रोत नभएता पनि आकासे पानी संकलन गरेर अर्गानिक खेती गरेरै जिल्लाको नमुना कृषकको रुपमा स्थापित भएका छन् ।

‘आफ्नो बारीबाट उत्पादन भएका बस्तुको विक्रीका लागि बजारको कुनै समस्या छैनन् ।’ वली भन्छन्–‘खोजी खोजी घरमै व्यापारीहरु तरकारी किन्न आउछन् ।’

नेपालका ६२ जिल्लाका भ्रमण गरिससकेका वली विभिन्न कृषि सम्बन्धि तालिमहरुमा प्रशिक्षकको रुपमा विभिन्न ठाउँहरु जाने गर्छन । वली नेपाल सरकारको उत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार तथा अन्य थुप्रै पुरस्कारहरुबाट समेत सम्मानित भैसकेका छन् ।