जाजरकोट प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखी जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाईएको छ ।
अहिलेसम्म जिल्लाका भेरे , राङ्गसी , कार्कीगाँउ , झाप्रा , करुवा , डाँडाँगाँउ , कल्पत लगायतका गाँउका ८५ जनाको १ सय ५९ रोपनी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।
जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटबाट परिचालन गरेर ठुलो परिमाणको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोहराको भनाई छ । बषौं देखी गाँजा खेती हुने र ठुलो परिमाणमा चरेस उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो ।
प्रहरीले पनि थाह नपाए जस्तो गर्दथ्यो तर यस अघिका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दानवहादुर मल्लले अफिम खेती पुरै नष्ट गरिदिएका छन् । भने उनी सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएपछि निमित्तको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक बोहराले गाँजा खेती नष्ट गर्ने अभियान चलाएका छन् ।
२३ भदौ देखी सुरु गरिएको अवैध गाँजा खेती नष्ट गर्ने अभियान निरन्तर जारी रहेको उनले बताए । लागु औषधको रुपमा लिईने गाँजा र अफिम खेती गर्न तस्करले नै उक्साउने गरेको पाईएको छ ।
अफिमको त विउ र आवश्यक औजार समेत सुरुमै दिने गरिएको पाईयो प्रहरी निरीक्षक वोहराले भने गाँजा खेती गर्ने किसानलाई तस्कर र ब्यापारीले चरेस उत्पादनका लागी अग्रिम पेश्की रकम समेत दिने गरिएको पाईयो ।
यहाँको अफिम र चरेस काठमान्डौका साथै भारत हुदै विश्वका विभिन्न मुलुकमा तस्करले निर्यात गर्ने गरेको प्रहरीको भनाई छ । त्यसका साथै चरेस स्कुले विद्यार्थीले समेत सेवन गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
स्थानियले चरेश र अफिमलाई आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागी घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ ।
अफिम खेती हुन थालेको धेरै बर्ष नभएपनि गाँजा खेती भने धेरै बर्ष पहिले देखी हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको चरेस निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।
एक हजार देखी तीन हजार मिटरको उचाईं आसपासका किसानले पाखोबारीमा गाँजाखेती गर्ने गरेको प्रहरीको भनाई छ । प्रहरीको गस्ती टोली नजाने जंगल छेउको पाखो जग्गामा उक्त खेती हुने गरेको छ । अन्य खेती भन्दा आम्दानी पनि धेरै हुने र खासै मेहिनत गनु नपर्ने भएकाले यस तर्फ किसानको आर्कषण बढेको हो ।
गाँजा खेती गर्नेले नै चरेस बनाउने र उक्त चरेस ब्यापारीले घरमै आएर किन्ने गरेको खुल्न आएको छ । अवैद्य चरेस कारोबारी रोक्न गाजा खेती नष्ट अभियान संचालन गरेको प्रहरी निरीक्षक सुवास भट्टले बताए बताए । पहिलो पटक गाँजा खेती गर्नेलाई सामान्य चेतावनी पछि छाडेको उनले बताए ।
दोस्रोपटक सोही ब्यक्तिले उक्त खेती गरेमा कानुनी कारबाही गरीने उनले बताए । गाँजा भदौ र असोजमा चरेस बनाउनका लागि परिपक्व हुनेगर्दछ । गाँजाबाट अचार खाने भाँगो समेत उत्पादन गरेर विक्री गर्ने गरिन्छ । यस जिल्लामा चरेसको कारोबारी बढ्न थाले पछि गाँजा खेती नष्ट गर्न जरुरी भएको निरीक्षक भट्टले बताए । कतिपयले भने अवैध खेती भन्ने थाह नपाएर पनि लगाउने गरेको पाईयो उनले भने ।
प्रहरीले आर्थिक बर्ष २०७२÷७३ मा चरेस र अफिम कारोवारमा संलग्न ९ जना विरुद्ध मुद्धा चलाएको जनाएको छ । ति मध्य २ जना जेलमा रहेको ४ जना तारेखमा छुटेको र ३ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।