सातौं राष्ट्रिय जिल्ला छनौट प्रतियोगिताबाट १ सय २३ जना खेलाडी छनौट भएका छन् । प्रतियोगीताबाट विभिन्न १२ वटा खेलको विधाबाट १ सय २३ जना खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समिति रोल्पाले जानकारी दिएको छ ।
फुटबल खेलमा २७ जनाले सहभागी जनाएका थिए । तर १८ जना खेलाडी छनौट भएका छन् । महिला एथ्लेटीक्समा ३, पुरुषतर्फ ४, तेक्वान्दोमा महिलातर्फ ६ र पुरुषतर्फ ८ जना खेलाडी छनौट भएका छन् ।
यस्तै, कँरातेमा महिलातर्फ ४ र पुरुषतर्फ ७, भलिबलतर्फ महिलामा १० र पुरुषमा १० जना छनौट भएका छन् । कबड्डी अन्र्तगत १० जना खेलाडी छनौट भएका छन् । ब्याडमिन्टनमा २, उसुमा १, बास्केटबलमा १०, आई.टि.एफमा ६ र क्रिकेटमा १४ जना खेलाडी छनौट भएका हुन् ।
यी विधा बाहेक जिल्लामा धेरै खेलाडीको पहिचान हुन नसकेको खेलाडीहरुको गुनासो छ । खेलाडीहरुमा रहेका प्रतिभालाई खुलेरै प्रस्फुटन गर्ने खालको वातावरण बन्न नसकेको खेल प्रशिक्षक हरिस वलीले बताए ।
राष्ट्रिय खेलहरुमा समेत भाग लिन सक्ने रोल्पाका खेलाडीहरुमा क्षमता भएपनि अझै रोल्पाली खेलाडीहरुलाई बेवास्ता गरिएको उनले बताए । भर्खर मात्रै सम्पन्न भएको ८ औं राष्ट्रपति रनिङशील्ड प्रतियोगीतामा पनि रोल्पाका खेलाडीहरुले राम्रो क्षमता देखाएको तर त्यसको मुल्याकंन जिल्ला तहमा हुनु दुखद् भएको उनको बुझाई छ ।
रोल्पा जिल्ला खेलाडी उत्पादन गर्नु मेशिन जस्तै बनेको जिल्ला खेलकुद विकास समिती रोल्पाका अध्यक्ष हरीप्रसाद घर्तीले बताए । रोल्पाका खेलाडीलाई माथिल्ला खेलहरुमा प्रेरित गर्न राज्यले कुनै वास्ता नगरेको उनले बताए ।