☰ open Loading... 23 December 2024|  

नयाँ सहकारी ऐन ल्याउने तयारीमा छु : सहकारी मन्त्री थानी
  | २९ आश्विन २०७३, शनिबार १७:५३

thani

सहकारी विकास तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारीलाई व्यवस्थित गर्न नयाँ ऐन ल्याउन लागिएको बताएका छन् ।

कर्मचारी यूनियन सहकारी संस्था सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री थानीले विधेयकको मस्यौदा आएपछि कानुन बनाएर जनताको पैसाको संरक्षण गर्ने बताए ।

कानुन बनेसँगै मूल्यमान्यताविपरित सहकारीका नाममा हुने गरेका अनियमितता अन्त्य हुने उनको विश्वास थियो ।

मुलुकमा सहकारी जनताका लागि अत्यावश्यक हुने भएपनि व्यवस्थित हुन नसक्दा वास्तविक गरिबले यसबाट लाभ लिन नसकेको बताउँदै उनले सरकारले छिट्टै सहकारीलाई व्यवस्थित गर्ने धारणा राखे ।

उनका अनुसार नयाँ सहकारी ऐनको मस्यौदा अर्थ मन्त्रालय, कानुन मन्त्रालयबाट सहमति प्राप्त गरी क्याबिनेटबाट छिट्टै नै संसदमा पुगेर उक्त ऐन पारित हुनेछ ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियन (संघ) सुर्खेतका अध्यक्ष नृपजंग शाही, कर्मचारी सहकारीका अध्यक्ष बृद्धिप्रसाद सापकोट, सचिव मेघनाथ सापकोटा, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेका सुर्खेत क्षेत्र नं. २, का सभापति नारायण कोइराला र नेका नगरसभापति देवकुमार सुवेदीलगायतले मन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।