☰ open Loading... 22 December 2024|  

परिचयपत्र दिएर मात्रै गरिवी अन्त्य हुँदैन : मन्त्री थानी
  | ४ कार्तिक २०७३, बिहीबार ०९:४३

गरिबी निवारणसम्बन्धी कार्यक्रमहरु आफ्नो मन्त्रालय अन्तर्गत नभएको दुखेसो सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले गरेका छन् । अर्थ मन्त्रालय आफैले मात्र युवा स्वरोजगार कोष चलाएकोले यसबाट लक्षित वर्ग सधैँ उपेक्षित भएको तर्क मन्त्री थानीको छ ।

thani
सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानी

‘अर्थ मन्त्रालयले आफै प्रोजेक्ट चलाउने होइन’ उनले पश्चिम नेपालसंग कुरा गर्दै भने, ‘कम्तिमा गरिवी निवारणसंग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु एकद्धार प्रणालीमार्फत् सञ्चालन भएपछि यसको प्रभावकारीता बढ्छ ।’

गरिवी निवारणसम्बन्धी कार्यक्रमहरु १४ वटा मन्त्रालयमा भएको जानकारी मन्त्री थानीले दिए । ‘यदि ती कार्यक्रमहरु सहकारी तथा गरिवी मन्त्रालयमा नसारिने हो भने आफ्नो मन्त्रालयको औचित्य नरहने उनले बताए ।

प्रधानमन्त्री कार्यालय अन्तर्गत गरिवी निवारण कोष, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत गरिबसंग विश्वेश्वर कार्यक्रम तथा अर्थ मन्त्रालय अन्तर्गत युवा स्वरोजगार कोष कार्यक्रम रहेका छन् ।

मन्त्री थानीले प्रधानमन्त्रीसंग ती कार्यक्रमहरु सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ल्याउन आफू मन्त्री भएदेखि नै माग गरेको बताए । ‘यस सम्वन्भमा प्रधानमन्त्री सकारात्मक पनि हुनुहुन्छ । तर, दिन मान्नुभएको छैन्’ उनले भने, ‘सिधै क्याबिनेट बैठकले निर्णय गरेर कार्यविभाजन नियमावली संशोधन गरे पुग्छ ।’

तर मन्त्री थानीले गरिबलाई परिचयपत्र बाँडेरमात्र देशको गरिवी अन्त्य नहुने ठोकुवा गरेका छन् । देशका २५ जिल्लाका १२ लाख जनसंख्यामध्ये ३ लाख ५६ हजार घरधुरी गरिवीको रेखामूनी रहेको तथ्यांक आफूसंग रहेको उनले जानकारी दिए ।

सरकारले यी जिल्लाका जनतालाई गरिब परिचयपत्र वितरण गर्ने तयारीमा आफूहरु जुटेको पनि थानीले बताए । ‘परिचयपत्र वितरणसंगै गरिवी निवारणको प्याकेज आवश्यक रहेको उनको तर्क थियो ।

यसैबीच, मन्त्री थानीले सहकारी ऐन, ०४८ लाई संशोधन गर्न मन्त्रालयले संसदमा टेबुल गरेको बताए । सहकारी अभियन्ताको विरोधका बाबजुद उक्त ऐन संशोधन गर्न लागिएको छ । सहकारीकर्मीले निरंकुश ऐन ल्याउन लागेको भन्दै विरोध जनाइरहेका छन् । संशोधित ऐनले सहकारी क्षेत्रमा व्याप्त विकृति अन्त्य हुने उनले दाबी गरे ।

फरक प्रशंगमा मन्त्री थानीले सुर्खेत क्षेत्र नम्बर दुईको विकास लागि आफू कटिवद्ध रहेको बताएका छन् । उनले सुर्खेत–कोहलपुर जोड्ने रत्न राजमार्ग टु लेन तथा १ सय ३३ केवि विद्युत प्रसारण लाईन निर्माण, स्थानीय सडक सञ्जाल लागायतका पूर्वाधारहरुको विकासमा जोड दिएको जानकारी दिए ।