☰ open Loading... 18 October 2024|  

फितलो अनुगमनले सडकैभरी खाल्डा
  | ८ कार्तिक २०७३, सोमबार ०९:०३

नियमित सडक मर्मत नहुनु, व्यक्तिगत प्रयोजनका लागि सडक क्षेत्रमा खाल्डा खन्ने प्रवृत्तिका कारण क्षेत्रीय सदरमुकामले परिचित वीरेन्द्रनगर कुरुप बन्दै गएको छ । सडकभरी खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढाउनुको साथै बजारको सुन्दरतासमेत खस्ँदै गएको छ ।

निर्माणाधिन धुलियाविट–पिपिरा सडक खण्डको हिलाम्मे सडक । फायल फोटो
निर्माणाधिन धुलियाविट–पिपिरा सडक खण्डको हिलाम्मे सडक । फायल फोटो

वीरेन्द्रनगरको लक्ष्मीहल लाइनदेखि बसपार्क, गोदाम लाइन, इत्राम जाने विभिन्न सडक खण्डहरुमा जताततै खाल्डाखुल्डी छन् । स्थानीय गाडी चालक कपिल थापा कमजोर गुणस्तरका कारण कालोपत्रे उप्किनु, सडकबाटै खानेपानीको पाइप बिछ्याउनुले खाल्डाखुल्डी बढी भएको बताउँछन् ।

धेरैजसो मोटरसाइकल चलाउनेलाई समस्या छ’ उनले भने, स्पिडमा आएका हुन्छन् । एक्कासी खाल्डोमा ठोक्किएर दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।’ उनी पनि दुई महिना अघि खाल्डाकै कारण झुक्किएर दुर्घटनामा परेका बताए ।

नगरपालिकाले आवश्यक अनुमगन, नियमन, कारबाही गर्न नसक्दा पछिल्लो समय वीरेन्द्रनगर कुरुप बन्दै गएको भन्दै स्थानीय नागरिकहरुले चिन्त व्यक्त गरेका छन् ।

सडक मर्मतको काम सडक डिभिजन कार्यालय तथा खानेपानी पाइप बिछ्याउने अनुमति भने वीरेन्द्रनगर नगरपालिकाले दिने गर्छ ।

नगरपालिका कार्यालयबाट अनुमति रसिद काटेपछि मात्र सडकको बीचबाट पाइप बिछ्याउन पाइने प्रावधान छ । तर, वीरेन्द्रनगरका सडकमा धेरै जसो निजी प्रयोजनका लागि सडक खनेर खाल्डो बनाउँदासमेत सरोकारवाला निकाय मौन छ ।

नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक शाहीले वीरेन्द्रनगरका सडकहरुमा जो सुकैले जे कामको लागि पनि सडकको बीचमा खन्नु परेमा नगरपालिकाबाट अनुमति लिएर मात्र खन्न पाइने बताए ।

‘यदि अनुमति नलिई सडक खनेको पाइएमा कारबाही हुन्छ’ उनले भने, अनुमति लिएर खनिएका खाल्डोलाई नगरपालिकाले नै पीच गर्ने गर्दछ ।

इन्जिनियर शाहीका अनुसार नगरपालिकाले हरेक वर्ष सडकको बीचमा पारिएका खाल्डोलाई पुर्न पिच गर्दै आएको छ ।

तर, गत वर्षदेखि लक्ष्मीहल लाइनको सडकमा पारिएका खाल्डो भने जस्ताको तस्तै छन् । उनले चालू आवमा कात्तिक महिनाभित्रै पीच गरिसक्ने दाबी गरे ।