☰ open Loading... 19 April 2024|  

भारतीय राष्ट्रपति मुखर्जी आज पोखरा आउँदै
  | १९ कार्तिक २०७३, शुक्रबार ०८:१९

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पोखरा जाने कार्यक्रम तय भएको छ । कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी मध्याह्न १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए ।

पोखरा विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल लगायतले स्वागत गर्नेछन् ।

क्षेत्रीय प्रशासक बरालका अनुसार पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउन आवश्यक सम्पूर्ण तयारी सकिएको छ ।

राष्ट्रपति मुखर्जीलाई पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने विरौटास्थित पोखरा ग्रान्ड होटलसम्म विभिन्न टोल समुदायका सर्वसाधारणले स्वागत गर्नेछन् ।

त्यस्तै, विमानस्थलबाट राष्ट्रपति मुखर्जीले दिउँसो ३ बजे सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित स्वागत गरिनेछ । भारतीय पेन्सन क्याम्पमा सम्बोधन गरेपछि उनी काठमाडौँ फर्कने कार्यक्रम छ ।