☰ open Loading... 26 July 2024|  

जंगली हात्तीले आतंक मच्चाउदा स्थानिय नागरिक त्रसित
  | २५ कार्तिक २०७३, बिहीबार १७:५९

बर्दिया राष्टिय निकुञ्ज आसपासका सामुदायिक वन र मध्यवर्ती क्षेत्र किनारका गाउँमा जंगली हात्तीको आतंक बढेको छ । पछिल्लो पटक सोमबार राति बबई नगरपालिका अन्र्तगतको पेरहनी गाँउका कृपाराम थारुको घर भत्काउनुका साथै घरभित्र भकारीमा राखेको धान समेत खाएको र अहिले पनि हात्ती गाउँ नजिकैको सामुदायिक वनमा रहेको स्थानियले जनाएका छन् ।

यसैगरी सतघरुवा, तिनघरुवा र नेउलापुर सामुदायिक वन नजिक रहेको धानखेतमा शनिवारराती देखि निरन्तर निकुञ्जबाट निस्केको जंगली हात्ती पसेर आतंक मच्चाएको छ ।

पाकेको धानखेत भित्र हात्ती आएपछी त्यहाँका स्थानिय बासिन्दा आतंकित भएका छन । जंगली हात्ती धपाउन निकुञ्जको प्राबिधीक सहितको टोली आएको भएपनि हात्ती जंगल भित्रै रहेकाले लठ्याउने सुई प्रहार गर्न नसकीएको निकुञ्जले जनाएको छ ।

केही दिन देखि लगातार नेउलापुर मध्यवर्ती सामुदायिक वन किनारका आसपासका गाउँमा जंगली हात्ती आएर आतंकीत पारेको छ । जंगली हात्तीको आतंक बढेकाले सामुदायिक वन र मध्यवर्ति क्षेत्रका बासीन्दालाई सर्तक भएर बस्न निकुञ्जले अनुरोध गरेको छ ।

यसैबिच निकुञ्ज किनारबाट जंगली हात्ती लगायतका बन्यजन्तु बाहीर आउन नदीनका लागि ब्यवस्थित रुपमा फलामका पोल सहित विद्युतिय तारबार सुरु भएको छ । निकुञ्ज किनारको सैनवार देखि, डुम्रेनी, कर्मला, बलाती हुँदै आम्बासा सम्मको झण्डै १६ किलोमिटर दुरीमा विद्युतिय तारबार लगाईने काम अन्तीम चरणमा रहेको निकुञ्जले जनाएको छ ।

यो नयाँ खालको बलियो विद्युतिय तारबारले मानव बन्यजन्तु बिचको द्धन्द्ध न्युनिकरण संगै जंगली हात्ती लगायतका वन्यजन्तु निकुञ्ज बाहीर आउन रोक्ने बताईएको छ ।

डल्ला र शिवपुर क्षेत्रमा चार वटा जंगली हात्तीलाई लठ्याउने सुई डार्ट गरीएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताए । नेउलापुर क्षेत्रमा आतंक मच्चाएको एउटा हात्तीलाई अझैँ डार्ट गर्नुपर्ने भएकाले प्राविधिक सहितको टोली तयारी अवस्थामा रहेको उहाँले बताए ।

यसैगरी बर्दियाको सुर्यपटुवा, ठाकुरद्धारा, शिवपुर गाबिसमा पनी जंगली हात्तीको झुण्डले आतंक मच्चाएको छ । स्थानिय बासिन्दाका घर भत्काउनुका साथै किसानले लगाएको धानखेती र केराखेती नष्ट गरेको छ ।

सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढेपछी स्थानिय त्रसित भएका छन् । जंगली हात्तीले आतंक मच्चाएको भन्दै पथ्थरबोझीका विद्यार्थीहरुका लागि विद्यालय सम्म ओहोर दोहोर गर्न निकुञ्जले गाडीको ब्यवस्था समेत गरेको छ । अर्को ब्यवस्था नहुँदा सम्म बिद्यालय आउने विद्यार्थीलाई गाडिमा ओहोरदोहोर गर्न निकुञ्जले आग्रह गरेको छ ।