☰ open Loading... 24 October 2024|  

केपी ओली १७ गते सुर्खेत आउँदै
  | १४ मंसिर २०७३, मंगलवार १८:३७

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओली यही मंसिर १७ गते सुर्खेत आउने भएका छन् । चार महिने संविधान कार्यान्वयनका लागि सञ्चालित जनपरिचालन अभियान अन्तरगत प्रदेश स्तरिय बृहत कार्यकता भेलालाई सम्बोधन गर्न ओली सुर्खेत आउन लागेका हुन् ।

kp-oli
प्रदेश संगठन कमिटी प्रदेश नं. ६ को अभियानलाई थप निरन्तरता दिन कमिटीले बृहत कार्यकर्ता भेलाको आयोजना लागेको छ । १७ र १८ गते वीरेन्द्रनगरको घण्टाघरमा हुने भेलामा ओलीसंगै बरिष्ठ नेता झलनाथ खनाल र महासचिव ईश्वर पोख्रेल पनि सहभागी हुनेछन् ।

भेलामा प्रदेश नं. ६ का पाँचसय जिल्ला स्तरिय नेता कार्यकर्ताको उपस्थिती हुने वृहत कार्यकर्ता भेलाका मूलव्यवस्थापन समितिका संयोजक यामलाल कंडेलले पत्रकार सम्मेलनमा जानकारी दिए । भेलामा ओलीले प्रदेश स्तरिय प्रारम्भिक घोषणापत्र जारी गर्ने कार्यक्रम तय भएको छ ।

घोषणापत्रमा मुख्यगरी संविधान कार्यान्वयन गर्न सरकारलाई जनदवाव दिने र प्रदेश नं. ६ लाई आर्थिक रुपमा समृद्ध बनाउने रणनीतिक योजनाहरु समावेश हुने कंडेलको भनाई छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीले मंसिरदेखि आगामी फाल्गनुसम्म चार महिने संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान जारी रखेको छ ।

प्रदेश नं. ६ मा अभियान अन्तरगत हालसम्म १० वटै जिल्ला कमिटी बैठक सम्पन्न भएको वृहत कार्यकर्ता भेलाका मूल व्यवस्थापन समितिका संयोजक कंडेलले जानकारी दिए ।

उनका अनुसार जिल्लाले जिल्ला भेला, निर्वाचन तथा इलाका स्तरिय भेला बैठक तथा गाउँ कमिटीसम्मका कार्यक्रम गर्ने योजना रहेको छ ।