सुर्खेतका १२ स्थानमा रहेका तुइनहरु हटाएर झोलुङ्गे पुल निर्माण गरेपछि करिव तीन लाख नागरिकलाई सहज भएको छ । जिल्लाका भेरी र कर्णाली नदी तथा अन्य खोलाहरुमा वारपार गर्न निर्माण गरिएका तुइन हटाउँदा २ लाख ८९ हजार ७ सय स्थानीयबासीलाई प्रत्यक्ष रुपमा सहजता भएको हो ।
गत वर्षदेखि जिल्ला प्राविधिक कार्यालय सुर्खेत र सस्पेन्सन डिभिजन काठमाडौंले सुर्खेतमा रहेका तुईनहरु हटाउने जिम्मा लिएका थिए । यि मध्य हालसम्म २ स्थानमा झोलुङ्गे पुल निर्माण भएका छन् ।
बाँकी १० स्थानमा पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । प्राविधिक कार्यालयले पाँच र डिभिजनले ७ स्थानका गरी १२ वटा तुइन हटाउने जिम्मा पाएका थिए । प्राविधिक कार्यालय धारापानी गाविसको सुर्खेत–सल्यान जोड्ने रैकरमा तुइन विस्थापित गरेर पहिलो पटक झोलुङ्गे पुल निर्माण गरेको सूचिमा सुर्खेत समावेश भएको छ ।
२०७२ साल असोजमा देशको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओलीले देशभरमा रहेका तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने अभियान सञ्चालन गर्ने पहिलो निर्णय गरेका थिए ।
सस्पेन्सन डिभिजनले लेखफर्सा र भेरीगंगा जोड्ने छोटेचिप्लेको तुइन विस्थापित गरेर पक्की पुल निर्माण गरिसकेको छ । बाँकी ६ स्थानमा पनि तिव्रताले काम भैरहेको जिल्ला प्राविधिक कार्यालय सुर्खेतका प्रमुख इन्जीनियर शम्भु मिश्रले जानकारी दिए ।
‘हामीले ५ स्थानका तुइन हटाउने जिम्मा पाएका हौं । सस्पेन्सनले ७ वटा तुईन हटाएर झोलुङ्गे पुल निर्माण गरिरहेको छ’ मिश्रले भने,–‘प्राविधिक कार्यालय र सस्पेन्सन डिभिजनले पुल निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ ।’
तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा आवत जावतमा सहजता भएको लेखफर्साका स्थानीय यज्ञबहादुर डढालीले बताए । ‘पहिला तुइनमा जाँदा हातमा ठेला नै उठ्थ्यो, अचेल सहज भएको छ’ डढालीले भने,–‘झोलुङ्गे पुल निर्माणहुँदा मेहलकुना पुगेर घर आउनु पर्ने बाध्यता अन्त्य भएको छ ।’
जिल्ला प्राविधिक कार्यालयले अवको तीन महिनामा सवै तुइन विस्थापित हुने बतायो । कार्यालयले बावियाचौरको डावखोला, पोखरीकाँडाको झारखेत, गुठुको रिग्ने, भट्टे सेरा र भेरीगंगा रामघाटको तल्लो बहगाउटोलमा झोलुङ्गे पुल निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।
तर, सस्पेन्सन डिभिजनले तरंगा–सुगरखाल जोड्ने बुगाडघाट, वेतान–बतलाको वेनिघाट, तंरगाको मौरीघाट, तातापानीको बटाघाट र घाटगाउँको गल्फघाटमा पनि झोलुङ्गे पुल निर्माण कार्य जारी राखेको छ ।
सस्पेन्सन डिभिजिनले बाँकी पुलहरुको ठेक्का गरेर निर्माण गरिरहेको जानकारी दिएपनि कहिलेसम्म काम सक्छ भन्ने थाहा नभएको प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर मिश्रले जानकारी दिए ।